कतिपय भूकम्पपीडितका दशैं अझै टहरामा

Published

पुनर्निर्माणले अपेक्षित गति लिन नसक्दा अढाइ वर्ष अघि भूकम्पले घर भत्किएका कतिपय पीडित यसपालिको दशैँ पनि टहरामै मनाउन बाध्य छन्।

दैनिक गर्जो टार्नै समस्या भोगिरहेकालाई दशैँजस्ता चाडपर्वले थप पीडा दिने उनीहरु बताउँछन्।

सरकारले बाँडेको ५० हजार रुपियाँको पहिलो किस्ता माटो पन्छाउनै नपुगेपछि थप किस्ताको लागि पहल गर्न नसकेको कतिपयको भनाइ छ।

टहरामा जमरा

सबैतिर दशैंको माहौल छ। तर ६६ वर्षका कृष्ण गाइजूले पनि टहरामै जमरा उमारेका छन्।

७२ सालको भूकम्पमा आफ्नै घर भत्केर उनको परिवारका ६ जना पुरिएका थिए। जिउँदै उद्धार गरिएका उनीहरुमध्ये कसैले पनि शारीरिक कसरत पर्ने काम गर्न सकेका छैनन्।

उनी आफैं पनि मृगौलाको रोगले थलिएका छन्।

५० हजार रुपियाँले माटो पन्छाउनै नपुग्ने भएपछि पहिलो किस्ताको उक्त रकम उनले आफ्नो औषधोपचारमा खर्च गरेको बताए।

"दैवले हाम्रो घर लग्यो। घर बनाउन पैसा छैन। सानो खेत छ खाने कि बेच्ने? नियमित कमाइ छैन। घर बनाउन नसकुञ्जेल अब यही हाम्रो घर हो। यहीं जमरा राख्ने र यहीं दशैं मनाउने," उनले भने।

जेलाँ भक्तपुरका करिब २० परिवार लिवालीस्थित यस शिविरमा बस्दै आएका छन्।

अहिलेसम्म चार परिवारले घर बनाउन शुरु गरेको गाइजु बताउँछन्।

सम्झना

उनैको टहरासँग जोडिएको अर्को टहरामा गंगा जमुनाको परिवार बस्छन्।

स्नातक तहमा अध्ययनरत उनीहरुको परिवारमा दशैंको खासै रौनक देखिएन।

आफन्त नातागोतासँग आफ्नै घरमा मनाउने गरेको दशैंतिहारको सम्झनाले पिरोल्ने गरेको ती जुम्ल्याहा दिदी बहिनीले बताए।

सरकारको अल्पकालीन राहतले तत्कालीन आवश्यकतामात्र टरेको बताउने उनीहरुले सहयोगको नाममा धेरैपटक ठगिएको सुनाए।

घरबारविहीन भएदेखि साथीभाइ आफन्तसमेत टाढिएको उनीहरुले बताए।

उनीहरुको मात्र होइन छेवैको टहरामा बस्ने लक्ष्मी गाइजूले पनि कोही पनि आफन्ती सहयोग गर्न अघि नसरेको बताइन्।

घर बनाउन नसकेर अपमानित महशुस गर्ने उनले सामान्य पूजाआजामै दशैं सीमित रहने बताइन्।

"पैसा हुनेले खसी नै काट्लान। हामी चाहिं यही टहरामा पूजाआजा गरौंला। आएको पर्व त मनाउनै पर्‍यो। कसैले कहिले घर बनाउने भनेर सोधे पनि गिज्याए जस्तो लाग्छ," उनले भनिन्।

पुनर्निर्माणमा सरकार प्रतिबद्ध बन्न नसक्दा, तथा त्यसको कार्यान्वयनलाई चुस्त पार्न नसक्दा, देशका हजारौं भूकम्पपीडितको दशैं खल्लो भएको जानकारहरु बताउँछन्।