कोरोना भाइरस नेपालः थप ३५ सय जनामा सङ्क्रमण, १८ जनाको मृत्यु

Published

नेपालमा विगत २४ घण्टामा ३,५५६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।

मन्त्रालयका अनुसार १५,५७७ वटा नमुनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

अहिले फेला परेका सङ्क्रमितमध्ये २,१२९ जनाभन्दा बढी काठमाण्डू उपत्यकाका हुन्।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख १५ हजार नाघेको छ।

चौबीस घण्टाको अवधिमा मङ्गलवार अपराह्णसम्म थप १८ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार सो अवधिमा १,५०३ सङ्क्रमित रोगमुक्त भएका छन्।

नेपालमा अहिलेसम्म ६६३ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये ३० प्रतिशत महिला छन्।

सोमवार मन्त्रालयले चार हजार सङ्क्रमित फेला परेको पुष्टि गरेको थियो।

अहिलेसम्म नेपालमा ७८,७८० जना सङ्क्रमित निको भइसकेका छन्। यो सङ्क्रमितको कुल सङ्ख्याको ६८.३ प्रतिशत हो।

कहाँ छन् सक्रिय सङ्क्रमित?

अहिले देशभरि ३५,९१५ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये २०,८६७ जना घरमा र बाँकी १५,०४८ जना संस्थागत आइसोलेशनमा बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ।

तीमध्ये २०,९०० सङ्क्रमित काठमाण्डू उपत्यकाका हुन्।

गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघ्यो।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

शनिवार मन्त्रालयले ५,००८ जना सङ्क्रमित फेला परेको बताएको थियो। त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

को हुन् सङ्क्रमित?

अहिले फेला परेका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

तीमध्ये १,७३६ जना काठमाण्डू जिल्लाका, १६७ जना भक्तपुरका र २१६ जना ललितपुरका हुन्।

त्यसैगरी सुनसरीमा २८९ जना, मकवानपुरमा १३० जना र रूपन्देहीमा २२८ जनामा पनि कोभिड-१९ देखिएको छ।