ब्रजिलको फुटबल क्लबका खेलाडी चढेको विमान दुर्घटनाग्रस्त

ब्रजिल
तस्बिरको क्याप्शन, च्यापेकोयन्सेले एउटा महत्वपूर्ण फुटबल प्रतियोगिताको उपाधिका लागि खेल्ने योजना थियो
Published

ब्रजिलको एउटा फुटबल क्लबका खेलाडीहरुसहित ८१ जना सवार विमान कोलम्बियाको मेदेइननजिकै दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन्।

बोलिभियाबाट उडेको उक्त विमान भाडामा लिइएको थियो र त्यसमा ब्रजिलको च्यापेकोयन्से फुटबल क्लबका सदस्यहरु चढेका थिए।

उक्त टोलीले एउटा फुटबल प्रतियोगिताको उपाधिका लागि मेदेइनको टिम एटलेटिको न्याशनलसंग भिड्ने योजना थियो।

अब उक्त खेल स्थगित भएको छ।

आशा

च्यापेकोयन्से सन् २०१४ मा मात्रै ब्रजिलको पहिलो डिभिजनमा उक्लिएको थियो।

अर्जेन्टिनाको टिमलाई गत साता पराजित गर्दै उक्त टोली पछिल्लो प्रतियोगिताको अन्तिम दुईमा पुगेको थियो।

विवरणहरुका अनुसार विमानमा ७२ जना यात्रु र ९ जना चालकदलका सदस्य थिए।

ब्रजिल

उक्त विमान स्थानीय समयअनुसार मध्यरातको केहीअघि मात्रै मेदेइननजिकैको पहाडी भागमा दुर्घटनाग्रस्त भएको थियो।

मेदेइनका मेयरले उक्त घटनालाई ठूलो वियोग भन्दै केही मानिस जीवित फेला पार्ने आशा रहेको बताएका छन्।

तर कति जीवित छन् भन्नेबारे अझै यकीन विवरण प्राप्त भइसकेका छैनन्।