अलेप्पोमा जारी युद्ध ‘अन्त्य नजिक’

तस्बिर स्रोत, Reuters
द्वन्द्वग्रस्त सिरियाली शहर अलेप्पोमा चार वर्षयता जारी युद्ध अन्त्य नजिक पुगेको विवरणहरु प्राप्त भएका छन्।
सरकारी फौज विद्रोही नियन्त्रित इलाकाहरु पुगेपछि अलेप्पोका बासिन्दाहरुले खुशी मनाइरहेका दृश्यहरु राज्य नियन्त्रित टेलिभिजनले देखाएको छ।
मार्मिक
तर अझै पनि एउटा सानो भाग विद्रोहीको नियन्त्रणमा छ।
त्यहां सिरिया र रुसका लडाकु विमानहरुले भीषण आक्रमण गरिरहेका छन्।
हाल सिरिया पुगेकी बीबीसी संवाददाता लिज डुसेटले भन्छिन्, "हामीलाई प्राप्त विवरणहरु अनुसार विद्रोहीको नियन्त्रणमा रहेका केही क्षेत्रमा फसेका सर्वसाधारण निकै त्रस्त छन्। त्यहाँका कतिपय मानिसले आफूहरु मृत्युको पर्खाइमा रहेको भन्दै सामाजिक सञ्जालहरुमा परिवारसंग बिदाइ मागेका मार्मिक पोस्टहरु गरेका छन्"।
पछिल्लो द्वन्द्व चर्किएयता दशौं हजार मानिसहरु सरकार नियन्त्रित क्षेत्रहरुमा गएका छन् तर केहीले भने त्यहां गए आफूहरुलाई सरकारी फौजले मार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
आक्रोश
राष्ट्रसंघीय महासचिव बान की मुनले अलेप्पोमा भएको भनिएको ज्यादतीप्रति चिन्ता व्यक्त गर्दै सर्वसाधारणहरुको रक्षा गर्न सिरियाली सरकार र उसका सहयोगहीरुलाई अपील गरेका छन्।
सिरियाका लागि मानवीय सहायतासम्बन्धी राष्ट्रसंघीय सल्लाहकार यान इगेल्याण्डले चाहिँ राष्ट्रपति बसर अल असदप्रति बफादार मिलिसियाहरुले गरेका ज्यादतीका लागि सिरियाली र रुसी सरकार जिम्मेवार हुनुपर्ने चेतावनी दिएका छन्।

तस्बिर स्रोत, AFP/Getty
यसैबीच अमेरिकी विदेशमन्त्रालयले विद्रोही नियन्त्रित क्षेत्रमा फसेका सर्वसाधारणलाई सहयोग गर्न आफूले ल्याएको युद्धविरामको प्रस्ताव रुसले अस्वीकार गरेको जनाएको छ।
रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले भने त्यस्तो युद्धविरामले केवल विद्रोही समूहलाई मात्रै फाइदा पुग्ने भएकाले सर्वसाधारणका लागि छुट्टै मार्गहरु बनाइनुपर्ने बताए।



















