'स्थानीय निकाय चुनावबारे सहमति नजिक'

तस्बिर स्रोत, cmprachanda.com
पुरानै संरचनामा भए पनि छिट्टै स्थानीय निर्वाचन गर्न प्रमुख तीन दल सहमति नजिक पुगेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।
प्रमुख तीन दलका शीर्षस्थ नेताको बैठकमा त्यस्तो राजनीतिक विकाश भएको उनले बताएका हुन्।
सरकारले स्थानीय निर्वाचनका लागि आवश्यक बाँकी दुईवटा विधेयक पनि संसदमा दर्ता गराएको भोलीपल्ट शीर्षस्थ नेताबीच प्रधानमन्त्री निवासमा बैठक भएको हो।
जहाँ निर्वाचन र निर्वाचनसँग सम्वन्धित कानुन, सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक र अख्तियार प्रमुख विरुद्धको महाअभियोग प्रस्तावका बारेमा छलफल भएको नेताहरुले बताएका छन्।
प्रगति
अन्य विषयमा सहमति हुन नसके पनि निर्वाचनका विषयमा भने केही प्रगति भएको कांग्रेस सभापति देउवाले संचारकर्मीलाई जानकारी दिए।
बैठकपछि तरुण दलको एउटा कार्यक्रमा बोल्दै पुरानै संरचना अनुरुप नै भए पनि स्थानीय निर्वाचन गर्नेमा आफूहरु सहमत भएको बताए।
उनले भने, "निर्वाचनको वातावरण बनिसक्यो। पुरानै गाविसलाई गाँउपालिका भनेर भए पनि कुनै पनि हालमा निर्वाचन हुनुपर्छ भन्नेमा हामी सहमत भएका छौं।"
स्थानीय निर्वाचन पुरानै संरचनामा गर्ने विषयमा केन्द्रित रहेको भए पनि स्थानिय तहको या स्थानीय निकायको भन्ने बारेमा ठोस सहमतिमा पुग्न भने बाँकी रहेको बताइएको छ।
सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराए देखि नै आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका एमाले अध्यक्ष केपी ओली पनि छलफलबाट निस्किए पछि केही सकारात्मक बनेको जस्ता सुनिएका थिए।
चुनावको मिति
छलफलपछि संचारकर्मीलाई प्रतिक्रया दिंदै अध्यक्ष ओलीले भने, "अलि कुरा सकिएन, छिट्टै निर्वाचनको बाटोमा जाने विषयमा फेरि बस्नुपर्छ भन्ने भएको छ।"
शीर्षस्थ नेताबीचको छलफल लगतै एउटा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले स्थानीय निर्वाचनको मिति छिट्टै घोषणा गरिने बताए।
उनले भने, "प्रमुख तीन पार्टीका नेतालाई बोलाएर मैले केही दिनभित्र निर्वाचनको मिति तोक्ने र संशोधन प्रस्तावलाई टुङगोमा पुर्याउन छलफल गरेको छु।"
संविधानको संक्रमणकालीन व्यवस्था अनुसार स्थानीय निकायको निर्वाचन गर्ने बाटो सरकारलाई खुल्ला रहेको छ।
तर संविधान संशोधन र अख्तियार प्रमुख विरुद्धको महाभियोग प्रस्ताव लगायतका विषयमा दलहरुबीच असहमति कामयमै देखिन्छ।



















