प्रधानमन्त्री प्रचण्ड एमालेसँग क्रुद्ध

प्रचण्ड
Published

संघीय गठबन्धनसँग संविधान संशोधन विधेयक सदनमा प्रस्तुत गर्ने सहमति गरेका प्रधानमन्त्री प्रचण्डले उक्त विधेयक विफल बनाउन प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई चुनौती दिएका छन्।

एमालेले जारी राखेको संसद् अवरोध गैरलोकतान्त्रिक कदम भएको प्रधानमन्त्रीको आरोप छ।

संसद्को अवरोध हटाउने विषयमा सभामुख ओनसरी घर्तिले प्रमुख दलका शीर्षस्थ नेताको बैठक आह्वान गरेकै दिन विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्ड एमालेसँग क्रुद्ध देखिन्थे।

तर्क

आफ्नो पार्टीको कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले पत्रकारहरुसँग भने, "प्रतिपक्षि एमालेले संसद अवरोध गरेर गैरलोकतान्त्रिक र गैरसंसदीय संस्कृति देखाएको छ, यो जति ढिलो हुन्छ, उहाँहरुलाई नै क्षति हुन्छ।"

उनले संशोधन विधेयकको छिनोफानो संसद्बाटै हुनु पर्ने बताउँदै पारित हुनबाट रोक्ने छुट विपक्षीलाई भएको बताए।

उनले भने, "हामी पारित गराउन चाहन्छौ, प्रतिपक्षले असफल पार्न चाहन्छ भने त्यो उसको अधिकारको कुरा हो। तर संसदबाटै विधेयकको छिनोफानो हुनुपर्छ, रोकेर बस्ने होइन।"

मर्म

पहिले संसदको चुनाव गर्नुपर्ने एमाले नेताको धारणाप्रति शंका व्यक्त गर्दै प्रचण्डले त्यसो गर्नु असंवैधानिक हुने बताए।

उनले भने, "संविधानको मर्म र भावना भनेको स्थानीय निर्वाचन, प्रादेशिक निर्वाचन र केन्द्रीय निर्वाचन नै हो। एकै पटक केन्द्रीय चुनाव गर्नु भनेको संविधानको मर्ममाथि प्रहार गर्नु हो। त्यस्तो कुरा गर्नु वितण्डा मात्रै हो।"

प्रतिपक्षी दल एमाले गरेको संसद अवरोधकै कारण संविधान संशोधनसँगै चुनावको मिति तय गर्न र अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव अन्योलमा परेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।