बर्लिन हमला आफूले गराएको आइएसको दाबी

बर्लिन
Published

विद्रोही समूह इस्लामिक स्टेटले आफ्नो समाचार संस्थामार्फत आफ्ना एकजना लडाकुले उक्त घटना गराएको दाबी गरेको छ।

इस्लामिक स्टेटले आफुहरुविरुद्ध सैन्य कारवाहीमा संलग्न गठबन्धनमा रहेका देशका नागरिकहरुलाई लक्षित गर्ने आफ्नो आह्वानको प्रतिक्रिया स्वरुप उक्त घटना गराइएको बताएको हो।

सोमबार बर्लिनस्थित क्रिशमश बजारमा एउटा ट्रक लगेर जोत्दा १२ जनाको ज्यान गएको थियो भने करिब ५० जना घाइते भएका थिए ।

अनुसन्धान

हमलाकारीको अझै पहिचान भएको छैन र हमलाकारीबारेका दाबीलाई प्रमाणित गर्ने तत्काल कुनै तरिका पनि छैन।

जर्मनीका आन्तरिक मामिलासम्बन्धी मन्त्री टोमस डे मेजएरले इस्लामिक स्टेटको दाबीबारे सतर्कतापूर्वक प्रतिक्रिया जनाउँदै विभिन्न कोणबाट अनुसन्धान जारी रहेको बताएका छन्।

उनले बर्लिनस्थित क्रिशमश बजारमा सोमबार भएको घातक हमला पछाडि रहेका मानिसहरु पक्राउ नपर्दासम्म अनुसन्धानकर्ताहरु खटिरहने बताएका छन्।

आक्रमणका संदीग्ध ठानिएका एकजना पाकिस्तानीलाई हमला उनैले गराएको भन्ने पर्याप्त प्रमाण नभएको भन्दै जर्मनीका अभियोजनकर्ताहरुले छोडिदिएका छन्।

बर्लिन

संघीय अभियोजनकर्ताले हमलाको शैली र हमलाकारीले छनोट गरेको लक्ष्य हेर्दा त्यो इस्लामिक उग्रवादीले गराएको जस्तो देखिने बताएका छन्।

शंका

अधिकारीहरुले हमलाको पछाडि एकजना वा धेरै, जति दोषि भए पनि उनीहरु भागिरहेको हुनसक्ने बताएका छन्।

बर्लिनस्थित बीबीसी संवाददाता ड्यामिन म्यागिनसले भने, "बर्लिनका प्रहरीले स्थानीय बासिन्दाहरुलाई सतर्क रहन आह्वान गरेका छन् र केही शंका लागे हटलाईन नम्बरमार्फत खबर गर्न पनि भनेका छन्।"

क्रिशमश बजारमा सोमबार एउटा ट्रक लगेर जोतिँदा १२ जनाको ज्यान गएको थियो भने ५० जना घाइते भएका थिए।

ती मध्ये १४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

गएको वर्ष जर्मनीमा यस्ता थुप्रै हमला भएका छन् र यो अहिलेसम्मकै ठूलो हो।