बर्लिन हमलाका संदिग्धको खोजी युरोपभर जारी

तस्बिर स्रोत, Thinkstock
जर्मनीको बर्लिनस्थित क्रिशमश बजारमा सोमबार भएको हमलाका मुख्य संदिग्ध ठानिएका ट्युनिशियाली नागरिकको खोजीकार्य युरोपभर जारी छ।
अनिस आम्री नाम गरिएका ती संदीग्धको सम्पर्क इस्लामवादी संयन्त्रसँग हुँदा हुँदै पनि उनलाई जर्मनीमा अस्थायी रुपमा बस्न दिइएको थियो।
तर उनलाई शरण दिन भने जर्मनीले अस्वीकार गरेको थियो।
निगरानी
गत सोमबार बर्लिनमा १२ जनाको ज्यान जाने गरि भएको लरी हमलाका मुख्य संदिग्ध ठानिएका ट्युनिशियाली नागरिक यो वर्षको शुरुमा पनि सुरक्षाकर्मीको निगरानीमा रहेको सञ्चारमाध्यमहरुले बताएका छन्।
२४ वर्षीय अनिश आम्री नाम गरिएका ती व्यक्तिलाई बन्दुक खरिद गर्न चाहिने रकमका लागि चोरीको योजना बुनेको शंकामा निगरानी गरिए पनि पर्याप्त प्रमाण नपुगेको भन्दै त्यो हटाइएको थियो।
जर्मनीमा स्थायी शरण नपाएका उनी अहिले युरोपभर खोजिको विषय बनेका छन्।
लरीको चालककक्षमा उनको आवास अनुमतिपत्र फेला परेपछि उनलाई पक्रनका लागि पूर्जी जारी गरिएको छ।
जर्मनीका अधिकारीहरुले उनी खतरनाक भएको र उनीसँग हतियार हुनसक्ने भन्दै सतर्क हुन आग्रह गरेका छन्।

तस्बिर स्रोत, AFP
उनको परिचयपत्र क्रिशमश बजारमा जोतिएको ट्रकको चालक कक्षभित्र फेला परेको थियो।
अनुसन्धान
बर्लिनस्थित बीबीसी संवाददाता ड्यामिन म्यागिनसले भने, "यो हमलाका क्रममा उनले ट्रकका निर्दोस चालकको हत्या गरेका थिए। ती संदीग्धको खोजी अहिले जारी नै रहेकोले जर्मनीमा हडबडाहटको अवस्था छ।"
ती संदीग्धलाई पक्राउ गर्न सकिने खालका सूचना दिनेलाई १ लाख युरो इनाम दिइने घोषणा पनि भएको छ।
खबरहरुका अनुसार ट्रकका चालकसँग भिड्दा उनी घाइते भएका हुनसक्छन्।
जर्मन चान्सलर एंगेला मर्केलले उक्त हमलाको अनुसन्धानबारे छलफल गर्न सुरक्षा अधिकारीसँग भेटेकी छन्।
सोमबार बर्लिनस्थित क्रिशमशको व्यस्त बजारमा एउटा ट्रक लगेर जोत्दा १२ जनाको ज्यान गएको थियो भने करिब ५० जना घाइते भएका थिए।



















