अलेप्पो सिरियाली सेनाको पूर्ण नियन्त्रणमा

तस्बिर स्रोत, AFP
विद्रोहीको नियन्त्रणमा रहेको अलेप्पोका बाँकी भागबाट विद्रोही लडाकुहरु अन्यत्र गएपछि अब उक्त शहर आफ्नो पूर्ण नियन्त्रणमा आएको सिरियाको सेनाले बताएको छ।
सेनाले एउटा विज्ञप्ति जारी गर्दै अलेप्पोमा आफूहरुले सुरक्षा व्यवस्था कायम गरेको र विद्रोहीका लागि यो ठूलो धक्का भएको बताएको छ।
सन् २०११ मा सिरियामा गृहयुद्ध शुरु भएयता राष्ट्रपति बसर अल असदका लागि यो ठूलो विजय हो।
विजय
उनको समर्थनमा मानिसहरुले झण्डा फहराएर र नाराहरु लगाएर त्यसको खुशीयाली मनाइरहेको दृश्य सरकारी टेलिभिजनले देखाएको छ।
एकजना सिरियाली सैनिकले भने, "अलेप्पोको यो विजय समग्र सिरियाको विजय हो। हामी यो विजय हाम्रा राष्ट्रपतिलाई समर्पित गर्न चाहन्छौं।"
विद्रोहीको नियन्त्रणमा रहेको अलेप्पोको अन्तिम भूभागबाट गत साता ३५ हजार भन्दा बढी विद्रोही लडाकु र सर्वसाधारण त्यहाँबाट अन्यत्र गएका थिए।
अन्तर्राष्ट्रिय रेड क्रस कमिटी ले भनेको छ, उक्त क्षेत्र छोड्न चाहने सबै त्यहाँबाट अन्यत्रै गइसकेका छन्।
सिरियाका लागि संयुक्त राष्ट्रसंघका दूतले अब राजनीतिक समाधानको खोजि गरिनुपर्ने बताएका छन्।

तस्बिर स्रोत, AFP
संयुक्त राष्ट्रसंघका अधिकारीका अनुसार गत सातामात्रै पूर्वी अलेप्पोबाट ३४ हजार सर्वसाधारण र विद्रोही लडाकुहरु बाहिरिएका छन्।
खोजी
उक्त क्षेत्रमा परेको हिमपात, तीव्र वेगमा लागेको हावा र यातायातको खराब अवस्थाका कारण त्यहाँबाट अन्यत्र जाने प्रक्रिया सुस्त भएको थियो।
जसले गर्दा त्यहाँबाट बाहिरिन चाहने सर्वसाधारण घण्टौंसम्म कठ्यांग्रिदो अवस्थामा कुर्न वाध्य भएका थिए।
पूर्वी अलेप्पोबाट बाहिरिएका मानिसलाई विद्रोहीको नियन्त्रणमा रहेको शहर बाहिरको पश्चिमी इलाका तथा इडलिब प्रान्तमा लगिँदै छ।
रुस र टर्कीले मध्यस्थता गरेको सम्झौताको हिस्साअन्तर्गत इडलिब प्रान्तस्थित सरकारको नियन्त्रणमा रहेका दुईवटा नगरहरुका बासिन्दाहरुलाई त्यहाँबाट हटाइँदै छ।
सिरियाका लागि संयुक्त राष्ट्रसंघका दूतले राजनीतिक समाधानको खोजी अब गरिनुपर्ने बताएका छन्।



















