हराई रहेको रुसी विमानको खोजीकार्य जारी

रुस
Published

उडेको केही समयदेखि राडरसँग सम्पर्कविहीन भएको रुसी सेनाको विमानको खोजीकार्य जारी रहेको रुसका सञ्चारमाध्यमले जनाएका छन्।

सोचीस्थित ब्ल्याक सी रिसोर्टबाट विमान सिरियाको लाटाकिया प्रान्त जाँदै थियो।

आपतकालसम्बन्धी मन्त्रालयले हराईरहेको सेनाको विमान टीयू-१५४ भएको बताएको छ।

यात्रु

उक्त मन्त्रालयले हराईरहेको विमानमा ८ जनाको चालकदलसहित ९१ यात्रु रहेको पुष्टि गरेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन्।

यात्रुमध्ये सेनाको सांगीतिक समूह र पत्रकारहरु पनि भएको खबरहरु छन्।

उनीहरु सिरियामा रहेको रुसी सेनाको शिविरमा नयाँ वर्षको अवसरमा सांगीतिक कार्यक्रम मनाउन जाँदै थिए।

इन्टरफ्याक्स समाचार संस्थाले मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय समय अनुसार ५ बजेर २० मिनेट जाँदा उडेको विमान २० मिनेटपछि राडरसँगको सम्पर्कबाट बाहिर गएको बताएको छ।

रुसी जलक्षेत्रमाथिबाट सम्पर्कविहीन भएको विमानको खोजीकार्य जारी भएको रुसको सरकारी टेलिभिजनले जनाएको छ।