दुर्घटनाको अनुसन्धान गर्न पुटिनको निर्देशन

विमान सोची
तस्बिरको क्याप्शन, विमानको अवशेष सोचीमा ओसारपसार गरिँदै
Published

रुसी रक्षा मन्त्रालयले ९२ यात्रु बोकेको एक रुसी सैन्य विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त भएको बताएको छ।

सोचीबाट सिरियाको लटाकियातर्फ जान लागेको विमान उडेको दुई मिनेटमा राडारबाट हराएको थियो।

विमानका अवशेष र केही शवहरु फेला परेका छन्।

Tu-154 ले सिपाहीहरु, पत्रकारहरु र प्रसिद्ध सांगितिक समूह अलेग्ज्यानड्रोभ मिलिटरी म्युजिक एनसेम्बलका ६४ सदस्य गरी ९२ जना यात्रु बोकेको थियो।

कन्सर्ट

उक्त सांगितिक समुह सिरियाली शहर लाटकीया नजिकै रहेको हवाई सैन्य अखडामा रहेका रुसी सेनाका लागि नयाँ वर्षको दिन सांगितिक प्रस्तुती 'कन्सर्ट' गर्न त्यसतर्फ लागेको थियो।

राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबारलाई शोकको दिन घोषणा गरेका छन्।

मस्कोबाट उडान शुरु गरेको उक्त विमान सोचीस्थित एडलर विमानस्थलमा इन्धन भर्न रोकिएको थियो।

नियमित सिरिया
तस्बिरको क्याप्शन, रुसका Tu-154 विमानहरु रुसी फाइटर विमानको सुरक्षा घेरामा नियमित रुपमा सिरिया जान्छन्

रक्षा मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा भनिएको छ- रुसी रक्षामन्त्रालयको Tu-154 विमानको अवशेष ब्ल्याक सी किनारमा ५० देखि ७० मीटर गहिराइमा फेला परेको थियो।

मन्त्रालयका प्रवक्ता इगोर कोनाशेङकोभले भने- कोही पनि जीवित फेला पारिएको छैन।

शान्त आवाज

रुसी सञ्चार माध्यममा बजाइएको अडियो रेकर्डले एअर ट्राफिक कन्ट्रोलर र विमानबीच भएको अन्तिम भनिएको कुराकानीमा विमान चालक समूह कुनै पनि समस्यामा रहेको संकेत देखिँदैन।

विमान हराउनु ठीक अघिसम्म पनि विमानभित्रबाट आएका आवाजहरु शान्त थिए।

उक्त क्षेत्रबाट प्राप्त रिपोर्टहरुमा त्यहाँ उडानका लागि वातावरण राम्रो थियो।

प्रवक्ता कोनाशेङकोभले भने- गत सेप्टेम्बर महिनाम विमानको सर्भिस गरिएको थियो र डिसेम्बर २०१४ मा ठूलो मर्मत सम्भार गरिएको थियो। र त्यसमा 'अनुभवी' चालक थिए।

राष्ट्रपति पुटिनले दुर्घटनाको अनुसन्धान गर्न राष्ट्रिय आयोग बनाउन आदेश दिएका छन्। उनले मृतकका परिवार र साथीभाइप्रति समवेदना प्रकट गरेका छन्।