‘नेकपा-एमालेलाई मनाउने प्रयास जारी रहने’

तस्बिर स्रोत, cmprachanda.com
राजनीतिक गतिरोध अन्त्य गर्नका लागि प्रधानमन्त्री प्रचण्डले आव्हान गरेको बैठकमा संविधान संशोधन विधेयक र निर्वाचन सम्बन्धी विधेयक एकै साथ अघि बढाउन सत्ताधारी र तराई-केन्द्रित दलका नेताहरु तयार भएको बताइएको छ।
मंगलबार साँझसम्म चलेको बालुवाटार बैठकमा नेपाली कांग्रेस र तराई-केन्द्रित दलका नेताहरुले त्यस सम्बन्धमा थप छलफल गर्ने बताइएको छ।
नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाका अनुसार विधेयकहरु अघि बढाउनका लागि सत्तारुढ दल र तराई केन्द्रित दलका नेताहरुले प्रमुख प्रतिपक्षी नेकपा-एमालेलाई मनाउने प्रयास जारी राख्नु पर्ने बताएका थिए।
नेकपा-एमाले र अन्य विपक्षी दलहरुले संविधान संशोधन विधेयकको विरोध थप चर्काउने घोषणा गरिसकेको अवस्थामा सत्ताधारी दल तथा तराई-केन्द्रित दलहरुले नयाँ रणनीति लिने संकेत दिएका हुन्।
योजना
त्यस अनुसार संसदमा दर्ता भइसकेको संविधान संशोधन विधेयक र निर्वाचन गर्नका लागि आवश्यक विधेयकहरु संगसंगै अघि बढाइने भनिएको छ।
नेपाली कांग्रेसका महामन्त्री कोइरालाका अनुसार सो बैठकमा कांग्रेस नेताहरुले तोकिएको समयभित्रै निर्वाचन सम्पन्न गर्ने पक्षमा आफ्ना धारणा राखेका थिए।
"हामीले अब चुनावको मिति पनि तोकेर अघि बढ्नु पर्ने बतायौं।"
उनका अनुसार तराई-केन्द्रित दलहरुले चाहिँ संविधान संशोधन विधेयक अघि बढाउनु पर्नेमा जोड दिएका थिए।
दबाब
संविधान संशोधन विधेयक दर्ता हुने वित्तिकै त्यो फिर्ता हुनु पर्ने माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद अवरुद्ध पारिदियो र सडकमा समेत पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याउँने प्रस्तावको विरोध थाल्यो।
एमाले र अन्य विपक्षी दलले संविधान जारी गर्दाको वाचा पूरा गर्दै तीनै तहको चुनाव सम्पन्न गर्ने वातावरण बनाउन प्रचण्ड नेतृत्वको सरकारमाथि लगातार दबाब दिइरहेका छन्।
अर्कोतिर तराई-केन्द्रित दलका कतिपय नेताले संविधान संशोधन विधेयक यथास्थितिमा अघि बढ्न नहुने र त्यसमा परिमार्जन हुनु पर्ने माग राख्दै आएका छन्।



















