इस्तानबुल हमला: बन्दुकधारीको खोजी जारी

टर्की
Published

इतबार बिहानै टर्कीको इस्तानबुलमा रहेको एउटा रात्रिक्लबमा हमला गर्ने हमलाकारीको खोजी टर्कीका प्रहरीले जारी राखेका छन्।

उक्त हमलामा ज्यान गुमाउने ३९ जनाको अन्तिम संस्कार गरिएको छ।

टर्कीका सञ्चारमाध्यमहरुले मृतकहरु मध्ये पाँच साउदी अरेबियाकासहित कयौँ अरब देशका नागरिक समेत रहेको जनाएका छन्।

शोक

अधिकारीहरुले उक्त हमलामा इजरेल, फ्रान्स, ट्यूनिसिया, लेबनन, भारत, बेल्जियम, जोर्डन र साउदी अरेबियाका गरी करिव १५ जना विदेशीहरु पनि मारिएको बताएका छन्।

टर्कीका प्रधानमन्त्री बिनाली एल्दरिमले ती हमलाकारीले रात्रिक्लबको भीडको फाइदा लिँदै आफूले चलाएको बन्दुक त्यहीँ छोडेर भागेको बताएका छन्।

यसअघि हमला गर्ने बन्दुकधारी 'सान्टा क्लस'को पहिरनमा रात्रिक्लब छिरेको भन्ने खबरहरु आएका थिए तर प्रधानमन्त्री एल्दरिमले त्यो साँचो नभएको बताए।

बीबीसीका मार्क लोवेनले भने, "अन्त्येष्टि कार्यक्रममा भेला भएकाहरुले प्रियजनप्रति शोक व्यक्त गरे र कुनै बेला सुरक्षित लाग्ने आफ्नो देशमा अहिले के भयो भनेर दुख व्यक्त गरे।"

कुर्द लडाकु समूह पिकेकेका नेताले आफ्ना फौज उक्त हमलामा सहभागी नभएको बताएका छन्।

टर्की

जघन्य अपराध

रेयना नामको रात्रिक्लबमा सयौं मानिसहरु नयाँ वर्ष मनाइरहेका बेला आइतबार बिहानै हमला भएको थियो।

नयाँ वर्ष शुरु भएको ७५ मिनेटपछि इस्तानबुल सहरको रेयना नामको ब्यस्त रात्रिक्लबमा हमला भएको थियो।

सेलिब्रेटी र विदेशी पर्यटकमाझ चर्चित रहेको उक्त रात्रिक्लबमा हमलाका बेला करिब ७ सय मानिसहरु रहेको ठानिएको छ।

रात्रिक्लब छिर्नुअघि हमलाकारीले प्रवेशद्वारमा रहेका एकजना सुरक्षा गार्ड र एकजना प्रहरीलाई गोली हानी हत्या गरेका थिए।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उक्त आतंकवादी हमला जघन्य र अक्षम्य भएको भनेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यो भन्दा निन्दनीय अपराध कल्पना गर्न पनि कठिन हुने बताएका छन्।