सहमतिमा नै संशोधन प्रस्ताव पेश: प्रचण्ड

प्रचण्ड
Published

सरकारले आफूहरुलाई झुक्याएर जबर्जस्ती संविधान संशोधन विधेयक संसदमा टेबुल गरेको भनी नेकपा एमालेका नेताहरुको आरोपका माझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षीहरुसंगको सहमतिमा नै सो संशोधन प्रस्ताव संसदमा पेश गरेको दावी गरे।

सोमबार चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओली संगको कुराकानीमा संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत गर्न उनकै शब्दमा 'एक खालको समझदारी' भएको पनि बताए।

उनले भने, "हिजो भएको के हो भने झण्डै 'एग्री टु डिसएग्री' भन्ने भए कै हो। जबर्जस्ती भन्ने चाहिं होइन, एक खालको सहमति भएकै हो।""

नेकपा एमालेले संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव छक्याएर पेश गरिएको भन्दै आफ्नो दलले सो प्रस्ताव पारित हुन नदिने बताएको छ।

तर प्रधानमन्त्री प्रचण्डले ती आरोपहरु अस्वीकार गरे।

"होइन झुक्याउने कुरा केही छैन। झुक्याउने के छ र?" उनले भने।

सहमति

एमाले नेता ओलीसंग करीब १ घण्टा भएको बैठकमा संशोधन प्रस्तावको विषयमा छलफल गर्दै गर्ने र प्रकृयामा जाने सहमति भएको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले भने, "सभामुखले पहिले प्रमुख नेताहरु बोलाउनु भएको थियो। त्यहाँ छलफल पछि म र केपी ओलीबीच १ घण्टा कुरा भैसके पछि अहिले विषयमा समझदारी बन्न नसक्ने भयो र प्रकृया अगाडि बढाउने तिर जाउ भन्ने समझदारी भए पछि टेबुल गरिएको हो।"

आइतबार नै राष्ट्रपति कहाँ नेपाली काग्रेस र एमालेसंग भएको बैठकमा कुनै न कुनै उपायबाट टुँगो पुग्ने कुरा भएको प्रधान मन्त्री प्रचण्डले बताए।

"राष्ट्रपतिकहाँ नेपाली काँग्रेसका सभापति, एमालेका अध्यक्ष र मेरोबीच लामो कुराकानी पछि कुनै न कुनै उपाय खोजेर यो स्थितिलाई अगाडी बढाउने र निर्वाचन तिर देशलाई लैजाने कुरा भएको छ, अब टुँगिन्छ," उनले भने।

अब निर्वाचनको विधेयक बनाउने बाटो खुल्ला भएको बताउँदै सहमतिबाट नै संविधान संशोधन प्रस्ताव पारित गरिने पनि उनले बताए ।