शान्तिवार्ताको शुरुमा परस्पर दोषारोपण

तस्बिर स्रोत, AFP
आर्मी अफ इस्लामका प्रमुखले सिरियाको सेना र उसको समर्थक इरानलाई शान्ति सम्झौता भंग गरेको आरोप लगाएपछि सिरियाली सरकारका प्रमुख वार्ताकारले उनलाई अशिष्ट र उत्तेजक भनेका छन्।
रुस इरान र टर्कीले आयोजना गरेको वार्तामा मोहम्मद अलुशले अप्रजातान्त्रिक व्यवहार देखाएको बशर जाफरीको भनाई छ।
विपक्षी नेता मोहम्मद अलुशले सिरियाली सेना र उसका समर्थकलाई युद्धविराम भंग गरेको आरोप लगाएका छन्।
विद्रोहीहरुले गृहयुद्धको अन्त्य गर्नका लागि राजनीतिक समाधानलाई सबभन्दा राम्रो उपाय मानेको तर त्यो मात्र उपाय नभएको पनि उनले बताए।
विगतका वार्ता
कजाकस्तान को राजधानीमा हुन लागेको त्यो वार्तामा पहिलोपटक विपक्षी टोलीमा सशस्त्र समूहका प्रतिनिधि मात्रै छन्।
जिनीभामा संयुक्त राष्ट्रसंघले मध्यस्थता गरेको वार्ता गत अप्रिल महिनामा भंग भएको थियो।
निर्वासित राजनीतिज्ञहरु संलग्न रहेको त्यो वार्ताले खासै केही प्रगति गरेको थिएन।
सन् २०११ मा राष्ट्रपति बशर अल-असद विरुद्धको आन्दोलन शुरु भएयता ३ लाख भन्दा बढी मारिएका छन् र १ करोड भन्दा बढी विस्थपित छन्।
वार्ता शुरु
सोमबार बिहान अस्टानाको एउटा होटलमा त्यो वार्ता शुरु भएको थियो।
विपक्षी टोली एकातिर र सरकारी अधिकारीहरु अर्कातिर बसेका थिए।
उनीहरुका साथमा रुस र इरानका प्रतिनिधी र राष्ट्रसंघका विशेष दूत स्टफान ड मिस्तुरा र कजाकस्तानका लागि अमेरिकी राजदूत थिए।
कजाक विदेशमन्त्रीले एउटा सम्बोधन गरेपछि बैठकमा सञ्चार माध्यमलाई प्रवेश दिइएको थिएन।
विश्लेषण

तस्बिर स्रोत, AFP
अस्टानाबाट बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लीज डुसेट भन्छिनः गत डिसेम्बर महिनामा विपक्षीले अलेप्पो शहरमा नमिठो हार व्यहोरेपछि उनीहरुले राष्ट्रपति बशर अल-असदको शासनलाई चुनौती दिनसक्ने अन्तिम अखडा गुमाएका थिए।
र टर्कीको राजधानी अंकारामा रुस र टर्की बीच त्यो भिडन्त अन्त्य गर्नका लागि एउटा नयाँ सम्झौता भयो।
सिरियामा परस्पर विरोधी पक्षलाई समर्थन गरिरहेका ती दुई देशले अब सिरियाको नयाँ भूराजनैतिक चित्र कोर्ने जमर्को गरिरहेका छन्।
कम अपेक्षन
सिरियाको सरकारी समाचारपत्रले बताएको छः त्यो वार्ता दमस्कसले आफ्नो जीतमाथि गर्व गर्ने मौका हो।
र उसकै शब्दमा त्यो 'आतंकवादी समूह'ले शान्तिका लागि वार्ता गर्ने अन्तिम मौका पनि हो।
तर लण्डनमा आधारित अल कद्स अल-अरबी समाचारपत्रले भने मुख्य कारकहरु त्यहाँ उपस्थित नभएको भन्दै वार्ताबाट कम अपेक्षा देखाएको छ।



















