पर्खाल बनाउन मेक्सिकोमाथि कर लगाउने ट्रम्पको योजना

मेक्सिको अमेरिका सिमाना
Published

सीमा पर्खालको खर्च कसले बेहोर्ने भन्ने विवाद चर्किंदै गर्दा मेक्सिकोका राष्ट्रपति एनरिके पेना नियतोले आगामी हप्ता उनले गर्ने भनेको वाशिंगटन भ्रमण रद्द गरेका छन्।

लगत्तै ह्वाइट हाउसले उक्त कर योजनाबारे जानकारी दिएको थियो।

आदेश

राष्ट्रपति ट्रम्पले बुधबार मेक्सिकोसंगको सिमानामा पर्खाल बनाउन एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

त्यस्तो पर्खाल बनाउने र त्यसको खर्च मेक्सिकोलाई तिराउने वाचा ट्रम्पले चुनावी अभियानताका गरेका थिए।

तर मेक्सिकोका राष्ट्रपति नियतोले त्यस्तो हुन नसक्ने भन्दै आएका छन्। उनले वाशिंगटन भ्रमण पनि रद्द गरे।

त्यसको केही घण्टापछि सम्वाददाताहरुसंग बोल्दै ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसरले राष्ट्रपतिले खर्च बेहोर्ने प्रस्तावबारे सांसदहरुसंग कुरा गरिरहेको र उनीहरुले सो प्रस्तावलाई अमेरिकी कंग्रेसले बनाउँदै गरेको कर सुधार प्याकेजकै हिस्सा बनाउने विचार भइरहेको बताए।

मेक्सिकोका आयातमाथि २० प्रतिशत कर लगाउँदा प्रतिवर्ष १० अर्ब डलर जति राजस्व उठ्ने उनले बताए।

त्यस्तो करले पर्खाल निर्माण खर्च सजिलै उठ्ने उनको भनाइ थियो।

दुई देशबिच प्रतिदिन डेढ अर्ब डलरभन्दा धेरै सीमा व्यापार हुने गरेको छ।

'बदला'

मेक्सिकोका राष्ट्रपतिले वाशिंगटन भ्रमण रद्द गरेपछि टिप्पणी गर्दै अमेरिकालाई सही ढंगले व्यवहार नगर्ने हो भने त्यस्ता बैठकको औचित्य नहुने राष्ट्रपति ट्रम्पले बताए।

मेक्सिकोले सीमा पर्खालको खर्च आफुले नबेहोर्ने बारम्बार भन्दै आएको छ।

मेक्सिकोका पूर्व राष्ट्रपति भिसेन्ट फक्सले अब आफ्नो देशले पनि पक्कै जवाफ दिने र बदलामा अमेरिकी आयातमाथि कर लगाउने बताए।

उनले भने, "हामीले अमेरिकाको जति सामान किन्छौं त्यसमा करिब एक करोड अमेरिकी रोजगार प्रत्यक्ष जोडिन्छन्। यदी उनले मेक्सिकोबाट हुने ४० अर्ब डलर बराबरका कार आयातमा कर लगाए मेक्सिकोले पनि अमेरिकाबाट हुने आयातमा कर लगाउनेछ।"

ट्रम्पको कर योजनाप्रति अमेरिकाभित्रै पनि विरोध भएका छन्।

रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले प्रस्तावित करको भार अन्तत: अमेरिकी उपभोक्ताका काँधमा आइपर्ने चेतावनी दिए।

मेक्सिको अमेरिकाको तेस्रो ठूलो व्यापारिक साझेदार रहेको भन्दै अमेरिकाले जस्ता कर लगाउँछ त्यस्तै कर मेक्सिकोले पनि लगाउन सक्ने र त्यसो भए आर्थिक वृद्धिमा असर पर्ने उनले बताए।