‘सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइयोस्’

जापान
तस्बिरको क्याप्शन, जापानी प्रधानमन्त्री शिन्जो आबेले क्षेप्यास्त्र परीक्षणको कडा शब्दमा निन्दा गरेका छन्।
Published

जापान र अमेरिकाले उत्तर कोरियाले पुनः बलेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि त्यसबारे छलफल गर्न सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन्।

उत्तर कोरियाले मंगलवार बिहानै परीक्षण गरेको क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको थियो।

सुरक्षा परिषद्को बैठक मंगलवार अबेर बस्ने बताइएको छ।

जापान र अमेरिकाका साथै दक्षिण कोरिया, अष्ट्रेलिया र ब्रिटेनले पछिल्लो क्षेप्यास्त्र परीक्षणको निन्दा गरेका छन्।

साइरन

जापानको उत्तरी हकाइदो टापुको करिब ३,००० किलोमिटरसम्म उत्तर कोरियाली क्षेप्यास्त्र पुगेको थियो।

उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो र मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो।

परीक्षण

जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र परीक्षण 'अभूतपूर्व, गम्भीर र देशका लागि खतरा' भएको प्रतिक्रिया दिएका छन्।

उत्तर कोरियाले पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएपनि गत आठ वर्षभित्र जापानी आकाशसम्म पुगेको यो पहिलो घटना हो।

चेतावनी

प्योङयाङले हालैमात्रै अमेरिकी मूल भूभागसम्म मार हान्न सक्ने एउटा अन्तरमहादेशीय क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएको थियो।

परीक्षण

उसले अमेरिकी टापु गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने योजना समेत बनाएको चेतावनी दिएको थियो।

गुआम दक्षिण-पूर्वी जापानदेखि २,००० किलोमिटर टाढा पर्दछ।

उत्तर कोरियाले गत शुक्रवार र शनिवार सानो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो।