धानबालीमा बाढीको असर 'सोचेको भन्दा कम'

बगर
तस्बिरको क्याप्शन, बाढीका कारण कैयौंको खेतमा नदी पसेर खेतीयोग्य जमिन बगरमा परिणत भएको बताइएको छ
Published

गत महिनाको बाढीले धानबालीमा पहिले अनुमान गरिएको भन्दा कम क्षति पुर्याएको अधिकारीहरुले बताएका छन्।

त्यसक्रममा कैयौं किसानहरुको जीवनयापनको माध्यम गुम्न पुगेको र कतिपयको खेतीयोग्य जमिनमा गम्भीर नोक्सानी भएको बताइएको छ।

पूर्वी र मध्य तराईका गरी झन्डै २ लाख हेक्टर जमिनको अन्नबालीमा असर परेको प्रारम्भिक अनुमान कृषि मन्त्रालयले गरेको थियो।

माछा पालन र नगदे बाली बढी प्रभावित भएपनि धानबालीमा भने पहिले सोचेभन्दा कम मात्र असर परेको बताइएको छ।

बिचल्ली

बाढी

तर खेतीयोग्य जमिन नदी कटानमा परेर मलिलो जमिन बगरमा परिणत भएर कैयौं परिवारहरुको बिचल्ली भएको बताइएको छ।

झापा अर्जुनधारा नगरपालिका ११ की रोजिना पाण्डे त्यस्तै पीडित मध्ये एक हुन्।

उनी भन्छिन्, "हाम्रो चार कठ्ठा धानबाली पुरै कटान भएको छ। खोला कुदिरहेको छ। तर कसैले हाम्रो समस्यामा ध्यान दिएको छैन।"

कृषि मन्त्रालयले प्रारम्भमा ८ अर्ब रुपिँयाको क्षति हुन सक्ने आंकलन गरेको भएपनि पछिल्लो सर्वेक्षणले क्षतिको परिमाण ५ अर्ब रुपियाँको हाराहारीमा हुने देखाएको छ।

क्षतिको विस्तृत विवरण संकलन गर्ने काम अझै जारी रहेकोले पीडितहरुको यकीन संख्या अझै निर्क्यौल गर्न नसकेको कृषी मन्त्री रामकृष्ण यादवले बताए।

राहत प्याकेज

उनले भने, "विवरण संकलन गरिरहेका छौं। कति क्षति हो ठ्याक्कै भन्न सक्ने स्थिति छैन। प्रतिवेदन आएपछि हामी सार्वजनिक गर्छौं।"

मन्त्रालयले सवा १ अर्ब रुपियाँको राहत प्याकेज घोषणा गरेपनि बजेट निकासा हुन नसकेकोले कार्यान्वयन गर्न सकेको छैन।

यसपाली बाढीले असर गरेका क्षेत्र नेपालको धान उत्पादनका मुख्य क्षेत्र रहेका थिए। तिनमा परेको असरको अनुपातले कृषि आयातमा पनि प्रभाव पर्ने ठानिएको छ।