दशैंको यात्रा

Published

दशैंको फूलपातीसम्ममा करिब २० लाख यात्रुले काठमाण्डू उपत्यका छाडेको ट्राफिक प्रहरीको अनुमान छ।

गंगवु बसपार्कतर्फ जाँदै एक यात्रु
तस्बिरको क्याप्शन, दशैं शुरु भएसंगै राजधानी काठमाण्डूमा विभिन्न पेशा, व्यवसाय या अध्ययन गरि बस्ने र वैदेशिक रोजगारबाट दशैं मनाउन घर फर्केने यात्रुहरुको चाप तीब्र गतिमा अघि बढेको छ। विगत वर्षहरुमा जस्तै केही दिनका लागि मात्रै भएपनि समय र आर्थिक जोहो गरेर दशैं मनाउन आफ्नो जन्मस्थल या गाउँघरमा फर्कनेको संख्या अत्यधिक ठूलो रहेको छ।
सहायता कक्षमा परामर्श गर्दै यात्रुहरु
तस्बिरको क्याप्शन, प्रहरीले यात्रुको सुविधाका लागि भन्दै काठमाण्डू उपत्यकाका विभिन्न स्थानमा १२ वटा यात्रु सहायता कक्षहरु स्थापना गरेको छ। नक्कली टिकट, बिचौलिया र तोकिएको भाडा भन्दा बढी शुल्क लिएको लगायतका गुनासा यात्रुहरुबाट आएपछि अनुसन्धान पछि केहीलाई कार्वाही गरिएको प्रहरीले जनाएको छ। हालसम्म सहज रुपमा टिकट दिलाइदिने भनी यात्रु ठग्ने ३३ जना बिचौलिया र बढी भाडा असुल्ने ९ वटा सवारी साधनलाई नियन्त्रणमा लिइ कार्वाही अघि बढाएको प्रहरीको भनाइ छ।
टिकट काट्नेको भिड
तस्बिरको क्याप्शन, यसपालीको दशैंमा हालसम्म काठमाण्डू उपत्यकाबाट बाहिरिने यात्रुहरुको संख्या २० लाख नाघेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक उमेश रंजितकारका अनुसार बुधबार फूलपातीको दिनमा मात्र झण्डै डेढ लाख यात्रुहरु बाहिरिए।
यात्रुका मालसामान राख्दै सहचालक
तस्बिरको क्याप्शन, उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी चालकहरुले हालसम्म मादक पदार्थ सेवन गरेको नभेटिएको, छतमा यात्रु र व्यावसायिक प्रयोजनका मालसामान पनि बोकेको नपाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाइ छ। बाहिरिने क्रम बढेकोले संधैजसो सवारीचापका कारणले अस्तव्यस्त बन्ने उपत्यकाका सडकहरु सुनसान जस्तै देखिन थालेका छन्।
गंगबु बसपार्कमा गाडी कुर्दै यात्रु
तस्बिरको क्याप्शन, काठमाण्डू उपत्यकाबाट बाहिरिने क्रम विस्तारै घट्दै जाने र पूर्णिमा पछि पुन: उपत्यका भित्रिने यात्रुको चाप ह्वात्तै बढ्ने प्रहरीको अनुमान छ। यात्रु र सवारीको चापका बीच गाउँघर फर्कनेहरुको लर्को काठमाण्डू उपत्यकाबाट बाहिरिने मुख्य नाका र बसपार्क अनि बसविसौनीहरुमा प्रष्ट देख्न सकिन्छ।
आफू चढ्ने बस खोज्दै यात्रुहरु
तस्बिरको क्याप्शन, दशैंमा राजधानीबाट घर जाने कैयौं यात्रुहरुले अग्रिम टिकट लिएपनि आफूले यात्रा गर्ने बस र सिट नम्बर किटान नभएका कारण कतिपय अन्यौलग्रस्त देखिएका छन्। कतिपयले महंगो भाडा तिर्न तयार भएको भएपनि गाडी नपाएको बताएका छन्। त्यस्ता गुनासा सम्बोधन गर्न प्रहरीले सहयोग गर्ने बताइएपनि आफूहरु अलपत्र परेको उनीहरुले बताए।
सहजीकरण गर्दै ट्राफिक प्रहरी
तस्बिरको क्याप्शन, टिकट काउन्टर र सवारी सञ्चालकहरुले एक अर्कालाई दोषी देखाएका कारणले पनि कतिपय यात्रु अलपत्र परेका छन्। यात्रुको गुनासा समाधानमा प्रहरीको सक्रियता बढाइएको बताइएपनि यात्रु ठगिने क्रम नरोकिएको गुनासा आएका छन्।
बसपार्कवाट बाहिरिंदै बस
तस्बिरको क्याप्शन, जारी निर्माणकार्य र पहिरोका कारण नारायणगढ-मुग्लिङ सडक लगायतका कतिपय मुख्य राजमार्गहरुमा एकतर्फि रुपमा मात्र सवारी आवागमन भएका कारण र वैकल्पिक रुटबाट यात्रा गर्नुपरेका कारण यात्रा अवधि लम्बिएको बताइएको छ। (फोटोहरु: कमल परियार)