चिकित्सकहरुको हडताल फिर्ता

हडतालमा चिकित्सकहरु
Published

सेवा नै बन्द गरेर आन्दोलनमा उत्रिएका देशैभरका चिकित्सकहरु आफ्नो माग पुरा गर्न सरकार सहमत भएको भन्दै शुक्रबार साँझदेखि काममा फर्किने भएका छन्।

प्रधानमन्त्री सहितको सरकारी टोलीसँगको वार्तापछि उनीहरुले आफ्नो आन्दोलन हाललाई स्थगन गर्दै काममा फर्किने निर्णय गरेका हुन।

चिकित्सक संघका महासचिव लोचन कार्कीले भने, "स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानुनमा परिवर्तन गरेर हाम्रा मागहरु सम्बोधन गर्न सरकार तयार भएको छ। त्यसैले हामीले शुक्रबार देखि नै काममा फर्किने निर्णय गरेका छौं।"

चिकित्सकको गम्भीर लापर्बाहीले बिरामीको मृत्यु भएमा उपचारमा संलग्न चिकित्सकले नै क्षतिपूर्ति तिर्नुपर्ने गरी सरकारले कानुन बनाउने निर्णय गरेको सार्वजनिक भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए।

निर्णय

लगत्तै सरकारले त्यस्तो निर्णय नगरिएको बताएको थियो।

तर चिकित्सक संघले स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीमाथि हुने गरेका दुर्व्यवहारमा संलग्नलाई धरौटी विना जेलको सजाय हुनुपर्ने भन्दै आफ्नो हडताल जारी राखेको थियो।

जसका कारण झन्डै एकसातादेखि सबै सरकारी अस्पतालको बहिरङग सेवा प्रभावित बनेको थियो।

अब परिवर्तन गरिने कानुनमा लापर्बाहीका कारण अस्पतालमा बिरामीको मृत्यु भएमा छानविन गरेर दोषीलाई कारवाही गर्ने र मृतकका आफन्तलाई कोष मार्फत क्षतिपूर्ति दिने व्यवस्था गर्ने अनि अस्पतालका चिकित्सक माथि आक्रमण भएमा धरौटी बिनाको जेल सजायको व्यवस्था गर्ने लगायतका प्रावधान राखिने वाचा शुक्रबार सरकारले गरेको चिकित्सक संघले जनाएको छ।