भारतमा दिवालीमा पटाकामाथि प्रतिबन्ध

तस्बिर स्रोत, Getty Images
भारतमा सर्वोच्च अदालतले हिन्दू पर्व दिवाली नजिकिंदै गर्दा राजधानी दिल्लीमा पटाका र आतसबाजीमाथि प्रतिबन्ध लगाएको छ।
सर्वोच्च अदालतले भनेको छ पटाकाको प्रयोगमा रोक लगाइंदा संसारकै सबैभन्दा खराब भनिएको दिल्लीको वायुको गुणस्तरमा सुधार हुन्छ की हुंदैन भनेर उस्ले जांच्न चाहेको छ।
पटाकाको विक्रि वितरणमा आगामी नोभेम्बर १ तारिखसम्म प्रतिबन्ध लागु हुनेछ।
भारतमा दिवाली पर्व १८ अक्टोबरमा मनाइंदैछ।
उत्सव
उत्तर भारतको सबैभन्दा महत्वपूर्ण मध्येको एक हिन्दू पर्व दिवालीमा दुष्टता माथि सत्यको विजयको उत्सव मनाइने गरिन्छ।
देशको सर्वोच्च अदालतले, सन् २०१६ मा पहिलोपल्ट लागु गरिएको र गत सेप्टम्बरमा अस्थायी रुपमा हटाइएको, पटाकाको विक्रिवितरण तथा प्रयोगमाथिको प्रतिबन्ध पुन: लागु गरियोस् भन्ने आवेदनपछि त्यस्तो निर्णय लिएको हो।
त्यसबेला अदालतले पटाका माथि पूर्ण प्रतिबन्ध लगाउनु "निकै कडा" कदम हुने भनिएको थियो।
भारतको केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डले पनि आफू पटाकामाथिको प्रतिबन्ध पुनर्स्थापित गरियोस् भन्ने पक्षमा रहेको अदालतलाई बताएको थियो।

तस्बिर स्रोत, Getty Images
तर जजस्ले पहिले नै दिवालीका लागि पटाका किनिसकेका छन् तिनीहरुलाई त्यसको प्रयोग गर्न भने दिइनेछ।
प्रतिबन्ध
गत बर्ष दिवाली पर्व समाप्त भैसकेपछि मात्र पटाका आफ्नो साथमा राख्न, भण्डारण गर्न र विक्रि वितरण गर्नमा प्रतिबन्ध लगाइएको थियो।
र त्यसबेला दिल्ली शहरको वायु प्रदुषणको स्तर खतरनाक तहमा पुगीसकेको थियो।
खराब वायुका कारण गत वर्ष दिल्ली सरकार सबै विद्यालयहरु तीन दिनसम्म बन्द गर्न बाध्य भएको थियो।
दिवालीका बेला थोरै मात्र पटाका तथा आतसबाजी गर्न विगतमा पनि विभिन्न अभियानहरु संचालन गरिएका थिए तर ति सफल हुन सकेका थिएनन्।



















