सरकारमा माओवादी केन्द्रको निरन्तरताबारे विवाद

प्रधानमन्त्रीको कार्यालय
Published

आगामी चुनावलाई लिएर सत्तारुढ माओवादी केन्द्र र एमालेले वाम गठबन्धनको नाममा तालमेल गरेपछि राजनीतिक ध्रुवीकरणको प्रयास भइरहँदा दुई प्रमुख दलबीच सत्ता साझेदारीको निरन्तरताका विषयमा विवाद चर्केको बताइएको छ।

माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेपछि उक्त पार्टी सरकारमा बसिरहन उचित नहुने नेपाली कांग्रेसका एक मन्त्रीले बताएका छन्।

माओवादी केन्द्रका नेताहरुले भने नेपाली कांग्रेससँग सत्ता साझेदारीका लागि भएको पूर्व सहमति अनुसार निर्वाचनसम्मै जुनसुकै भूमिकामा पनि सरकारमा कायमै रहने बताएका छन्।

संसद विघटन हुने अघिल्लो दिन कमल थापा नेतृत्वको राप्रपालाई सरकारमा सामेल गरेपछि सत्तारुढ नेपाली कांग्रेसका नेताहरुले माओवादी केन्द्रलाई सरकार छाड्नुपर्ने भन्दै दबाब बढाउँदै लगेको प्रतीत हुन्छ।

रुष्ट

सत्ता सहकार्य आफूसँग र चुनावी गठवन्धन एमालेसँग गरेपछि कांग्रेस, माओवादी केन्द्रसँग रुष्ट बनेको छ।

पार्टीको पछिल्लो धारणाबारे कांग्रेस नेता एवम् वाणिज्यमन्त्री मीन बहादुर विश्वकर्माले भने, "एउटै दल सत्ता र प्रतिपक्षमा हुँदै हुँदैन। विना विभागीय हैन उहाँहरुलाई बिदै गर्न खोजेको हो। अब बिदा गर्दा पनि, तपाईँको अगाडि खाना खान लागेको थाल झिक्दा पनि तपाईँ डाइनिङ टेबुल छोड्नु हुन्न भने त्यसको अर्थ के बुझ्ने भन्नुस् त?"

यता माओवादी केन्द्रले पनि नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपनि सरकार नछाड्ने बताउँदै आएको छ।

नेताहरु
तस्बिरको क्याप्शन, वाम गठवन्धन गरेपछि कांग्रेस माओवादी केन्द्रसँग रुष्ट बनेको छ

उक्त दलका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गरेको मन्त्रिपरिषद् विस्तारप्रति आपत्ति जनाउँदै कांग्रेससँग भएको पूर्वसहमति अनुसार आफूहरु चुनावसम्म नै सरकारमा बस्ने जनाएका छन्।

समर्थन

माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले भने, "प्रचण्डजीले देउवाजीलाई प्रधानमन्त्री बन्न सहमति अनुसार सरकार छोड्दिनु पनि भयो। त्यही सम्झौता अनुसार यही सरकारले निर्वाचन गर्छ भन्ने हो र हामी सरकारलाई समर्थन गर्छौं।"

मन्त्रिपरिषद् विस्तारलाई कतिपयले माओवादी मन्त्रीहरुको बहिर्गमनका लागि कांग्रेसले आधार तयार पारेको रुपमा अर्थ्याएका छन्।

तर सम्बन्धित पार्टीले फिर्ता बोलाउन आग्रह नगरेसम्म मन्त्री हटाउन नमिल्ने कानूनी व्यवस्थाले प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेको कतिपयको भनाइ छ।

त्यसैले, सरकारबाट फिर्ता नहुने माओवादी केन्द्रको अडानमाझ देउवाले उक्त दलका मन्त्रीहरुलाई,विना विभागीय हैसियतमा राख्ने विकल्पबारे पनि विचार गरिरहेको जानकारहरुले बताएका छन्।