को हुन् किम जङ-अनका दुई सारथी?

परमाणु
Published

अमेरिका र चीनसहित कैयौँ मुलुकले उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई लिएर विभिन्न प्रतिबन्धहरु लगाइसकेका छन्।

तर संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र शक्ति राष्ट्रहरुको प्रतिबन्धका बावजुद उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।

अमेरिकाले राष्ट्रसंघमा उक्त मुद्दालाई पटक-पटक उठाउँदै आएको छ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले भनिन्, "विगत २४ वर्षदेखि हाम्रा सबै प्रयासहरुका बावजुद उत्तर कोरियाको पारमाणविक कार्यक्रम पहिलेभन्दा खतरनाक भएको छ।"

महत्त्वाकांक्षा

प्रश्न उठ्छ- आखिर प्योङयाङको पारमाणविक कार्यक्रम कसरी अघि बढ्दैछ?

उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई गति दिनुको श्रेय दुईजना परमाणु वैज्ञानिकहरु री होङ-सोप र होङ सङ-मुलाई जान्छ।

री होङ-सोप पारमाणु अस्त्र अध्ययन केन्द्रका प्रमुख हुन् भने होङ सङ-मु त्यसका उप-निर्देशक हुन्।

परमाणु

पारमाणविक कार्यक्रमसम्बन्धी उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अनको महत्त्वाकांक्षा पूरा गर्ने जिम्मेवारी तिनै दुईजनाको काँधमा रहेको बताइन्छ।

जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ता माइकल म्याडन भन्छन्, यी दुई वैज्ञानिकहरुसँग ठूलो शक्ति छ र उनीहरुले उत्तर कोरियाको परमाणु वैज्ञानिक समुदायको प्रतिनिधित्व गर्दछन्।

म्याडनका अनुसार ती दुई वैज्ञानिकहरु कुनैबेला परमाणु भौतिकशास्त्रका पिता भनिने डो साङ-रोकका विद्यार्थी थिए।

क्षमता

र, डो साङ-रोक किम जङ-अनका बुवाका एक निकट सल्लाहकार थिए।

उत्तर कोरियाली पारमाणविक केन्द्रहरुसम्म पहुँच भएका सीमित व्यक्तिहरुमा स्टाण्डफर्ड विश्वविद्यालयको परमाणु विज्ञानका प्राध्यापक सेगफर्ड हेकर पर्दछन्।

परमाणु

योङब्योन न्युक्लियर साइन्टिफिक रिसर्च सेन्टरको निर्देशक पदमा री होङ-सोप भएका बेला हेकरले सन् २००४ देखि २०१० को बीचमा त्यहाँको भ्रमण गरेका थिए।

एउटा अन्तर्वार्तामा हेकरले भनेका थिए, "री होङ-सोपले मेरा प्रश्नहरुको इमानदारीपूर्वक दिएको जवाफ र उनको क्षमता देखेर म निकै प्रभावित भएको थिएँ।"

सन् २०१६ मा चौथो पारमाणविक परीक्षणमा पाएको सफलतापछि दुवै वैज्ञानिकलाई नेता किम जङ-अनले सम्मान गरेका थिए।

नरसंहार

त्यसरी सम्मानित हुने उनीहरु पहिला हुन्।

छैठौं पारमाणविक परीक्षणमा सफलता पाएपछि दुई वैज्ञानिकहरुको सम्मानमा किम जङ-अनले आधिकारिक समारोहकै आयोजना गरे।

परमाणु

उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउने यी दुई हस्तीहरुलाई राष्ट्रसंघको सुरक्षा परिषद्ले कालोसूचीमा राखेको छ।

सन् २००९ मा प्रकाशित राष्ट्रसंघको एउटा प्रतिवेदनमा उल्लेख गरिएअनुसार री होङ-सोपले परमाणु अस्त्र निर्माणका लागि प्लुटोनियम उत्पादन गर्ने तीनवटा संस्थाको निरीक्षण गरेका थिए।

राष्ट्रसंघले आफ्नो प्रतिवेदनमा भनेको थियो, होङ सङ-मुले आफ्नो देशमा परमाणु अस्त्र विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् भने री होङ-सोप नरसंहार गर्ने अस्त्रको विकासमा समर्पित छन्।