पुजारीसँग बिहे गर्ने महिलाले नगद पाउने

बिहे
Published

भारतको तेलंगाना राज्यमा पुजारीसँग बिहे गर्ने महिलाले तीन लाख भारु पाउने भएका छन्।

आर्थिक अभावका कारण पुजारीहरुले बिहेका लागि कन्या पाउन गाह्रो भइरहेकोले आर्थिक सहायता उपलब्ध गराउने निर्णयमा पुगेको तेलंगाना ब्राह्मण कल्याण संगठनले जनाएको छ।

संगठनको घोषणापछि समाजका विभिन्न तप्काबाट त्यसबारे प्रतिक्रियाहरु आइरहेका छन्।

ब्राह्मण परिष्दका अध्यक्ष केवी रमणाचारीले भने, "मन्दिर र संस्कृति तबसम्म चलिरहन्छन् जबसम्म पुजारी हुन्छन् र यो घोषणाले पुजारीहरु लाभान्वित हुनेछन्।"

आवश्यक

महा ब्राह्मण संघम तेलंगानाका मुख्य सचिव अवधानुला नरसिंह शर्मा भन्छन्, "गरिब ब्राह्मणहरुलाई सहयोग गर्न र उनीहरुको कल्याणका साथै संकृतिलाई बढवा दिनका लागि यस्तो निर्णय हुनु आवश्यक छ।"

यसअघि तेलंगाना सरकारले सन् २०१६ को बजेटमा ब्राह्मणहरुको कल्याणका लागि बजेटमा १ अर्ब भारु छुट्टयाएको थियो।

तर कतिपयले आर्थिक सहायता गर्ने निर्णयको आलोचना गरेका छन्।

बिहे

सामाजिक विकास परिषद्की निर्देशक कल्पना कन्नाभिरनले उक्त निर्णय संविधानको मर्म अनुरुप नभएको बताइन्।

उनले प्रश्न गरिन्, "कसैको बिहेको जिम्मेवारी राज्यले कसरी लिन सक्छ? कसैको बिहे नहुनु के सरकारको समस्या हो?"

दाइजो

बिहेका लागि जाति विशेषलाई आर्थिक सहायता उपलब्ध गराउनु उचित नहुने उनको तर्क छ।

कन्नाभिरनले थपिन्, "संविधान अनुसार पिछडिएको वर्गका मानिसका लागि शिक्षा र रोजगारीको अवसर सिर्जना गर्नका निम्ति कल्याणकारी उपायको आवश्यकता छ, त्यो दायराभित्र नपर्नेहरुका लागि चाहिँ होइन।"

बिहे

केही सामाजिक कार्यकर्ताले उक्त घोषणालाई दाइजोसँग जोडेर हेरेका छन्।

त्यस्तै विचार राख्ने एकजनाले भनिन्, "यो घोषणापछि मलाई त बिहेका लागि पुजारीहरुलाई दाइजो दिन लागिएको जस्तो लागिरहेको छ। "

ब्राह्मण परिषद्ले एक हप्ताभित्र आफ्नो योजनाबारे पूर्ण विवरण सार्वजनिक गर्ने जनाएको छ।