'क्याटलनमा समयअगावै चुनाव नहुने'

तस्बिर स्रोत, AFP
क्याटलनका नेता कारलस पुज्दमोनले स्पेनबाट स्वतन्त्र हुने उनको सरकारको पृथकतावादी अभियानका कारण उत्पन्न संकटलाई समाधान गर्न समयअगावै चुनाव घोषणा नगर्ने बताएका छन्।
क्याटलोनिया क्षेत्रीय सरकारको पृथकतावादी अभियानका कारण क्याटलन नेतामाथि दबाब बढिरहेको छ ।
बार्सिलोनामा बोल्दै उनले यो बारे निर्णय गर्ने अधिकार क्षेत्रीय संसद्को रहेको बताए ।
क्याटलन क्षेत्रीय सरकार र पृथकतावादी नेता पुज्दमोनलाई उसका अधिकारहरुबाट वञ्चित तुल्याउने योजना केन्द्र सरकारको रहेको छ ।
'बढ्दो तनाव'
गत अक्टोबर १ मा भएको जनमत संग्रहमा क्याटलोनियाले स्पेनबाट स्वतन्त्र हुने पक्षमा मतदान गरेपछि मड्रिडस्थित केन्द्र सरकार र क्याटलोनियाबीच तनाव बढेको छ ।
आफ्नो अडानबारे स्पष्ट पार्न उनले एक सम्बोधन गर्ने ठानिएको थियो, तर उनको उक्त कदम रद्द गरिएको अधिकारीहरुले बताएका छन् ।
स्पेनी संविधानको धारा १५५ ले क्षेत्रीय सरकारका संस्थाहरु, सुरक्षा र वित्तमाथि नियन्त्रण लिने अधिकार मड्रिडलाई प्रदान गर्दछ।
अक्टोबर १ को जनमतसंग्रहपछि पुज्दमोनले स्पेनबाट क्याटलोनिया स्वतन्त्र भएको एकपक्षीय घोषणा गरेका थिए ।
स्पेनको संवैधानिक अदालतले उक्त जनमत संग्रह अवैधानिक भनेर फैसला गरेको थियो ।
आह्वान
तर पुज्दमोनले मड्रिडलाई वार्ताका लागि आह्वान गर्दै त्यसको कार्यान्वयनलाई तत्कालै रद्द गरेका थिए ।
धारा १५५ लाई सक्रिय गर्न स्पेनी सिनेटले शुक्रबार मतदान गर्दैछ ।
पुज्दमोनको अति-प्रतिक्षित सम्बोधन सुन्न ठूलो संख्यामा मानिसहरु क्षेत्रीय सरकारको भवनअगाडि जम्मा भएका थिए र धेरैले उनले स्वतन्त्रताको घोषणा गर्ने आशा गरेका थिए।
पुज्दमोनले पृथकतावादी अभियानलाई रद्द गर्ने अड्कल पनि काटिएका छन् र मड्रिडको प्रत्यक्ष शासनको प्रतिरोधस्वरुप क्षेत्रीय चुनाव आह्वान गर्ने ठानिएको छ।
तर बिहीबार अपरान्ह क्याटलन अधिकारीहरुले उनको पूर्वनिर्धारित सम्बोधन नहुने बताएका हुन्।
तनाव
स्थानीय संचारमाध्यमले भने, "स्वतन्त्रता पक्षधर समूहहरुको पुज्दमोन नेतृत्वको गठबन्धन तनावमा छ । क्याटलन पृथकतावादी दल, ईआरसी, का प्रवक्ताले पूज्डमोनले समयअगावै चुनाव आह्वान गरिए उनलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्।"
क्याटलन सरकारले अक्टोबर १ मा भएको जनमतसंग्रहमा ४३ प्रतिशत क्याटलन मतदाताले मतदान गरेको र ती मध्ये ९० प्रतिशतले स्वतन्त्रतताको पक्षमा मत हालेको जनाएको छ।
बुधबार पुज्दमोनले स्पेनी सिनेटलाई पत्र लेख्दै क्याटलोनियाको स्वायत्तामाथि हस्तक्षेप गर्ने केन्द्र सरकारको योजना असंवैधानिक रहेको बताएका थिए।



















