मतदाता शिक्षा कार्यक्रमका 'केही अंश कटौती'

Published

दुई छुट्टाछुट्टै मतपत्र छाप्नु परेपछि मतदाता शिक्षा सम्बन्धी थुप्रै कार्यक्रम कटौती गर्नुपरेको निर्वाचन आयोगले जनाएको छ।

मतदाता शिक्षा कार्यक्रम
तस्बिरको क्याप्शन, मतपत्र छुट्टा छुट्टै छाप्नु परेपछि मतदाता शिक्षा कार्यक्रम प्रभावित भएको बताइएको छ

पहिलेका कतिपय सामग्री अब काम नलाग्ने भएकाले करिब १० करोड रुपियाँ थप खर्च लाग्ने उसको भनाइ छ।

चार ठाउँमा छाप हाल्नुपर्ने प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी हुन नसके धेरै मत बदर हुन सक्ने चिन्ताहरु व्यक्त भएका छन्।

प्रदेश सभा र प्रतिनिधि सभाको एउटै मतपत्र छाप्ने पूर्व निर्धारित कार्यक्रम परिवर्तन भई छुट्टाछुट्टै मतपत्र छाप्नु परेपछि निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रम स्थगित भएको थियो।

सामग्री खेर गए

आयोगले आगामी कार्तिक २५ गतेबाट उक्त कार्य देशभरको ७५३ स्थानमा शुरु गर्ने जनाएको छ।

तर समय थोरै मात्र रहेकाले मतदाता शिक्षासँग सम्बन्धित थुप्रै कार्यक्रमहरु सञ्चालन गर्न नसकिने आयोगका प्रवक्ता समेत रहेका तालिम तथा वैदेशिक सम्बन्ध महाशाखाका प्रमुख नवराज ढकालले बताए।

उनले भने, "अधिकांश कार्यक्रमहरु हामी सम्पन्न गर्न सक्छौं कि सक्दैनौं भन्ने अलमलमा छौं। सडक नाटक जस्ता कार्यक्रमहरु ७५३ स्थानमै लाने कार्यक्रम थियो, त्यो अब गाह्रो हुन्छ।"

कार्यतालिका परिवर्तन हुँदा मतदाता शिक्षा सम्बन्धी यसअघि छापिएका ९ थरीका सामग्री खेर गएको र नयाँ सामग्री छाप्ने काम प्रक्रियामा रहेको बताइएको छ।

यसबाट झन्डै १० करोड रुपैंयाको खर्च बढ्न जाने आयोगको प्रारम्भिक अनुमान छ।

आशंका

आयोगको कार्यतालिका अनुसार मंसिर १० गते हुने पहिलो चरणको निर्वाचन पूर्व मतदाता शिक्षा दिने समय १५ दिन मात्र रहेको छ।

यस्तोमा प्रत्यक्ष र समानुपातिक गरी चार स्थानमा मत हाल्नुपर्ने जटिल प्रकृयामा मतदाताहरु झुक्किने सम्भावना धेरै हुने कतिपयले आशंका व्यक्त गरेका छन्।

बदर मत
तस्बिरको क्याप्शन, मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मत संख्या बढ्ने बताइन्छ

आयोगले भने राजनीतिक दलका भातृसंगठनसँग मिलेर कार्यक्रम अगाडि बढाउने गरी तालिका मिलाइएकोले त्यो प्रभावकारी हुने विश्वास गरेको छ।

आयोगका प्रवक्ता ढकाल भन्छन्, "राजनीतिक दलका युवा नेतृत्वलाई तत्काल प्रशिक्षण दिन्छौं। स्थानीय तहको निर्वाचनमा त्यो प्रभावकारी देखिएको थियो। २१ स्थानमा हामी बृहत् प्रशिक्षण पनि गर्दैछौं।"

मतदाता शिक्षाको लागि आयोगले ९० करोड रुपैंया भन्दा बढीको बजेट छुट्याइएको छ र स्थानीय तहमा जस्तै झन्डै २० हजार स्वयंसेवकहरु नै प्रदेश र प्रतिनिधि सभामा खटाउन लागेको जनाएको छ।

मंसिर २१ मा हुने दोस्रो चरणको लागि भने मतदाता शिक्षाको लागि ११ दिनको थप समय पाएको छ।