लेबनन छद्म युद्ध मैदान: टिलरसन

तस्बिर स्रोत, AFP
लेबननका प्रधानमन्त्री साद अल-हरिरिले साउदी अरेबियाको राजधानीमा आफ्नो राजीनामा घोषणा गरेको केही दिनपछि लेबननका हिज्बुल्लाह नेताले उनको देशमाथि युद्ध घोषणा गरेको आरोप लगाएका छन्।
हसन नसरल्लाहले हरिरिको इच्छा विना साउदी अरेबियाले उनलाई रोकिराखेको बताए।
हिज्बुल्लाह नेता नसरल्लाहले लेबननविरुद्ध इजरेललाई साउदी अरेबियाले उक्साएको आरोप पनि लगाए।
साद अल-हरिरिले गत शनिवार साउदी अरेबियाबाट राजीनामा गरेका थिए।
विश्व प्रतिक्रिया
राजीनामा पछि उनले सार्वजनिक अभिव्यक्ति दिएका छैनन्।
बीबीसीका मध्यपूर्व सम्पादक सेबाष्टियन अशर भन्छन् नसरल्लाहले सधैँ झैँ शान्त तरिकाले आफ्नो भनाइ राखेपनि त्यसले यो क्षेत्रलाई थप तताइदिएको छ।
लेबननको परिस्थितिमाथि विश्व नेताहरुले प्रतिक्रिया दिइरहेका छन्।
लेबननको स्वतन्त्रताप्रति अमेरिकी दह्रो समर्थन रहेको उल्लेख गर्दै अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले लेबनन छद्म द्वन्द्वका लागि प्रयोग भएको हुनसक्ने भन्ने चेतावनी दिएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यो क्षेत्रमा नयाँ द्वन्द्वले भयावह परिणाम ल्याउन सक्ने बताए।
बिहीवार फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले साउदी अरेबियाको आकस्मिक भ्रमण गरेर लेबननको स्थिरताको महत्त्वमाथि जोड दिएका थिए।
आश्वस्त
बिहीवार साउदी अरेबिया र खाडीका अरु समर्थक राष्ट्रले आफ्ना नागरिकलाई लेबनन तत्काल छोड्न भनेका थिए।
बीबीसीकी बारबारा प्लेट भन्छिन् साउदी अरेबियाले हरिरिलाई राजीनामा दिन बाध्य नपारेको भन्ने त्यहाँका विदेशमन्त्रीले अमेरिकी विदेश मन्त्रीलाई आश्वस्त तुल्याएका छन्।
तर टिलरसनले हरिरिलाई देश फर्कन र कुरा बुझाउन भनेका छन् जसले गर्दा मुलुकको काम कारबाही अगाडि बढ्न सकोस्।
टिलरसनको लेबनन् छद्म युद्धमैदान बनेको भन्ने प्रतिक्रिया मुख्यत: इरानप्रति लक्षित भएपनि त्यो साउदी अरेबियाप्रति पनि लक्षित छ।



















