नेपाल यु-१९ एसिया कपको सेमिफाइनलमा

तस्बिर स्रोत, NSJF
नेपाली युवा क्रिकेट टोली मलेसियामा सञ्चालन भइरहेको १९ वर्ष मुनिको युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
समूह चरणको अन्तिम खेलबाट माथि उक्लिन नेपालले जितेर मात्र होइन, भारतले हार्नुपर्ने परिस्थिति बनेको थियो।
नतिजा त्यही नै भयो।
वर्षाले प्रभावित भएको दुवै खेलमा नेपालले मलेसियालाई तथा बाँग्लादेशले भारतलाई समान ८ विकेटले हराएका हुन्।
पहिलो
जितसंगै नेपाल पहिलो पटक एसिया कपको अन्तिम चारमा प्रवेश गरेको छ।
नेपाली प्रशिक्षक विनोद दासले नेपालको जितलाई खेलाडीहरुको कडा मेहनतको परिणाम भनेका छन्।
उनले भने, "खेलाडीहरुले निकै मेहनत गरेका छन्। हामीले योजना अनुरुप खेल्यौं। यो त्यसैको नतिजा हो।"
भारतविरुद्ध दुई दिन अगाडी भएको खेलमा ऐतिहासिक जित हात पार्नु नै नेपालको सेमिफाइनल पुग्ने बलियो आधार बनेको थियो।
युथ एसिया कपका पछिल्लो तीनवटै संस्करणको विजेता टोली भारत भने पहिलो पटक समूह चरणबाटै बाहिरिएको छ।

तस्बिर स्रोत, NSJF
वर्षाले विथोलेपछि २४ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिलो फिल्डिङ रोज्दै नेपालले आयोजक मलेसियालाई ४५ रनमा समेटेको थियो।
जवाफमा नेपालले ५.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य हात पार्यो।
युवा स्पिनर सन्दिप लामिछानेले महत्वपूर्ण योगदान दिने क्रममा ८ रन दिएर ५ विकेट लिएका थिए।
नेपालले अब सेमिफाइनलमा चिर प्रतिस्पर्धी अफगानिस्तानसंग आगामी शुक्रबार खेल्नेछ।
प्रशिक्षक दासले अफगानिस्तानको विषयमा भने, "अफगानिस्तान निकै राम्रो टोली हो। उनीहरुलाई हाम्रो खेलको बारेमा राम्रो थाहा छ। तर हामी अन्तिम बलसम्म मेहनत गर्नेछौं। राम्रो नतिजाको लागि खेल्नेछौं।"



















