जिम्बाब्वेले 'शुक्रबार नयाँ राष्ट्रपति पाउने'

एमर्सन मनाङ्गाग्वा
Published

जिम्बाब्वेका पूर्व उपराष्ट्रपति एमर्सन मनाङ्गाग्वालाई शुक्रबार देशको नयाँ राष्ट्रपतिको रुपमा शपथ दिलाइने त्यहाँको संसदका सभामुखले बताएका छन्।

दक्षिण अफ्रिकाका राष्ट्रपतिलाई भेटेर जिम्बाब्वे फर्किएका मनाङगाग्वालाई स्वागत गर्न विमानस्थलबाहिर ठूलो भीड जम्मा भएको थियो।

दुई साता अघि उनलाई अपदस्थ गरिएपछि सेनाले जिम्बाब्वेको सत्ता आफ्नो हातमा लिएको थियो।

सत्तारुढ जानु-पीएफ पार्टीका अनुसार मनाङ्गाग्वा अर्को वर्षको सेप्टेम्बरमा हुने चुनावसम्मका लागि मुगाबेको बाँकी कार्यकाल सम्हाल्दै राष्ट्रपति रहनेछन्।

शपथ ग्रहण

सरकारी सञ्चार माध्यमका अनुसार ७१ वर्षीय मनाङगाग्वाको शपथ ग्रहण कार्यक्रम शुक्रबारका लागि तय गरिएको छ।

उनको राजनीतिक धुर्त्याईँका कारण "गोही" उपनामले चिनिने मनाङगाग्वाले दक्षिण अफ्रिकाबाट एक वक्तव्य जारी गर्दै जिम्बाब्वेका सबै नागरिकलाई एक ढिक्का भएर देशको पुनर्निर्माणमा जुट्न आह्वान गरेका छन्।

आफ्नो ३७ वर्षेलामो शासनकाल अन्त्य गर्दै रोबर्ट मुगाबेले मंगलबार राजीनामा दिएका थिए।

हरारे पुगेका बीबीसीका अफ्रिका संपादक फर्गल किएन् भन्छन्, "मनाङगाग्वा लामोसमय सम्म मुगाबेका सहयोगी थिए। अब सत्ताको बागडोर सम्हाल्ने नेतामाथि अर्थपूर्ण परिवर्तनहरु गर्नका निम्ति दबाब बढ्नेछ।"

उनी भन्छन्, "विगतको जस्तो भ्रष्टाचार र तानाशाही शासनले जिम्बाब्वेको जर्जर अर्थतन्त्रलाई त्राण दिन आवश्यक अन्तर्राष्ट्रिय आर्थिक सहयोग र लगानी जुटाउन सहयोग गर्ने छैन।"