३२ जिल्लामा मतदान शुरु: निर्वाचन आयोग

पहिलो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आइतवार बिहान ७ बजेदेखि मतदान शुरु भएका विवरणहरु प्राप्त भएका छन्।
देशको पूर्वदेखि पश्चिमका हिमाली र उच्च पहाडी भेगका ३२ जिल्लामा पहिलो चरणमा चुनाव भइरहेको हो।
ती ३२ जिल्लामा प्रतिनिधि सभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्र छन्।
निर्वाचनको सबै तयारी पूरा भइसकेको जानकारी दिने क्रममा शनिबार साँझ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सबै मतदाताहरुलाई निर्धक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न आग्रह गरेका थिए।
आयोगको आग्रह
उनले भने, "बिहान ७ बजे आ-आफ्ना मतदान केन्द्रमा उत्साहका साथ उपस्थित भई मतदानमा सरिक हुन निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ। मतदानका लागि मतदाता परिचयपत्र या नागरिकता या सरकारले जारी गरेको फोटोसहितको कुनै पनि परिचयपत्रको प्रयोग गर्न सकिनेछ।"
दुवै चरणको निर्वाचन पर्यवेक्षणका लागि स्वदेशी र विदेशी गरी ७ हजारभन्दा बढी पर्यवेक्षक खटिने निर्वाचन आयोगले जनाएको छ।

तस्बिर स्रोत, AFP
आयोगले सबै पर्यवेक्षकहरुले प्रचलित कानून तथा निर्वाचन आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिएको छ।
पहिलो चरणको चुनावी मैदानमा प्रत्यक्षतर्फ ७ सय २ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् भने झण्डै ३२ लाख मतदाता रहेका छन्।

तस्बिर स्रोत, Reuters
आयोगका प्रवक्ता नवराज ढकालले बीबीसीसँग भने, "३२ जिल्लाका ४४ सय ६५ मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान शुरु भएको छ, निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा गरेर ७ बज्नुअगावै कर्मचारी खटाएको थियो। बिहान ७ देखि साँझ ५ बजेसम्म मतदाताले भोट खसाल्न पाउनेछन्।"
बाँकी ४५ जिल्लामा भने मंसिर २१ गते निर्वाचन हुनेछ।
१० वर्ष लामो माओवादी सशस्त्र द्वन्द्वपछि शुरु भएको राजनीतिक संक्रमण दुई वर्षअघि जारी भएको संविधान अनुसार भइरहेका यी चुनावले अन्त्य गर्नसक्ने कतिपय विश्लेषकहरु बताउँछन्।




















