'१५ जिल्लाका मतपेटिका सदरमुकाममा'

मतपेटिका ढुवानी
Published

जाजरकोट, रुकुम, नुवाकोट लगायत केही जिल्लामा मतपेटिका ढुवानीका क्रममा कतै कतै आक्रमणका प्रयास भए पनि ती ठाउँबाट मतपेटिका सकुशल सदरमुकाम ल्याइसकिएको गृहमन्त्रालयले जनाएको छ।

सोमबारसम्म २ हजार ४१० मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा ल्याइसकेको र बाँकी ५०७ वटा मतदानस्थलबाट मंगलबारसम्ममा ल्याइसक्ने लक्ष्य लिएको निर्वाचन आयोगले जनाएको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको पहिलो चरणमा २ हजार ९१७ मतदानस्थल प्रयोग भएका थिए।

ती मध्ये २ हजार ४१० मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा पुर्‍याइसकेको निर्वाचन आयोगले जनाएको छ।

हमला

अब हिमाली र पहाडी जिल्लाका केही विकट स्थानबाट मात्र मतपेटिका ल्याउन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए।

उनले भने, "४० वटा मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट ल्याउने र अन्य बाँकी ४६७ मतदानस्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने कुरा छ। मंगलबारसम्म सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाम ल्याइपुर्‍याउने छौं।"

मतपेटिका ढुवानीका क्रममा केही हमला भएका समाचार पनि आएका छन्।

तर ती सामान्य खालका रहेका र केही क्षति नपुर्‍याइएको गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडीले बताए।

बाँकी

उनले भने, "मतपेटिकामा कुनै क्षति भएको छैन। हामीले सुरक्षित हिसाबले सदरमुकाम ल्याइपुर्‍याएका छौं।"

मंसिर २१ गते दोस्रो चरणको निर्वाचन सकिएपछि मात्र मतगणना शुरु गरिने भएकाले अझै १० दिन यी मतपेटिका सम्बन्धित सदरमुकाममा सुरक्षित राख्नु पर्ने चुनौती रहेको बताइएको छ।

सदरमुकाम ल्याइएका मतपेटिका सुरक्षित राख्न पर्याप्त बन्दोबस्त गरेको प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडी बताउँछन्।

उनले भने, "मतपेटिका भण्डार स्थलमा पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना सहितको तीनै घेराको सुरक्षा प्रबन्ध मिलाएका छौं।"

कालिकोट, गोरखा, नुवाकोट सहित १५ जिल्लाका सबै मतपेटिका सदरमुकाममा ल्याइसकेको निर्वाचन आयोगका प्रवक्ता ढकालले बताए।

आयोगका अनुसार पुर्वी रुकुम, रोल्पा, डोल्पा, दार्चुला, बझाङ, संखुवासभा जिल्लाका विभिन्न विकट ठाउँबाट भने मतपेटिका ल्याउन अझै बाँकी छ।