'सुरक्षा रणनीतिमा परिमार्जन र कडाइ'

आयोगका पदाधिकारी
Published

चुनाव लक्षित हिंसा बढ्दै गएपछि उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले सुरक्षा रणनीतिमा परिमार्जन गर्दै कडाइका साथ प्रस्तुत हुने निर्णय गरेको छ।

एकजना निर्वाचन आयुक्तको संयोजकत्वमा रहेको समितिको बैठकमा विभिन्न सुरक्षा अंगका प्रमुख पनि उपस्थित थिए।

विस्फोटको घटनामा परेर दाङ्को तुलसीपुरमा एकजना म्यादी प्रहरीको मारिनुका साथै उदयपुरमा एकजना उम्मेदवार नै घाइते भए लगत्तै सुरक्षा समीक्षा गरिएको हो।

बैठकले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायले हरसम्भव सबै उपाय अवलम्बन गर्ने निर्णय गरेको छ।

निष्कर्ष

निर्वाचन आयोगले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, "सुरक्षा रणनीति तथा कार्यनीतिमा आवश्यकताअनुसार परिमार्जन गरि कडाइका साथ अघि बढ्ने निष्कर्ष निकालिएको छ।"

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक रहेका निर्वाचन आयुक्त सुधीरकुमार शाहले चुनावी सुरक्षा बलियो बनाउन राजनीतिक दलको सहयोगको खाँचोमा जोड दिएका थिए।

हालै प्रधानमन्त्री शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी ओली सहभागी सभास्थल आसपासमा विस्फोटका घटना भएका थिए।

त्यस्ता हिंसाका घटना नरोकिँदा सुरक्षा प्रबन्धलाई लिएर चिन्ता व्यक्त भइरहेका छन्।

शक्तिशाली बम

हिंसाका घटनाका माझ झापाबाट काठमाण्डूतर्फ गइरहेको यात्रुवाहक बसबाट प्रहरीले शुक्रबार तीनवटा बम बरामद गरेको छ।

बैठक
तस्बिरको क्याप्शन, प्रधानमन्त्रीले पनि सुरक्षा निकायका प्रमुखहरुलाई चुनावी सुरक्षा बलियो बनाउन हालसालै निर्देशन दिएका थिए

प्रहरीले विशेष सुराकीका आधारमा धादिङको नौबिसेबाट बरामद गरिएको ती बम शक्तिशाली रहेको जनाएको छ।

धादिङका प्रहरी उपरीक्षक ध्रुवराज राउतले भने, "काठमाण्डूमा चुनाव बिथोल्न त्यहाँ आतंक मच्चाउन र जनधनको क्षति पुर्याउने उद्देश्यले बम लग्न लागिएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।"

धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले बमसँगै गिरफ्तार दुईजना संदिग्ध व्यक्ति भारतीय नागरिक भएको अनुसन्धानले देखाएको जानकारी दिए।

अज्ञात

शुक्रबार ललितपुरमा पनि एउटा बम विस्फोट भएको छ।

प्रहरीका अनुसार तर्साउने उद्देश्यले गराइएको उक्त विस्फोटबाट जनधनको क्षति भएको छैन।

देशका विभिन्न स्थानमा लगातार जसो भइरहेका विस्फोटका घटनाको कसैले पनि जिम्मेवारी लिने गरेको पाइँदैन।

तर सरकारले चुनावको विपक्षमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको दलका कार्यकर्तालाई गिरफ्तार गर्ने गरेको छ।