थाई निर्वाचन: धाँधली भएको थाक्सिनको आरोप, साझेदारलाई फकाउँदै दलहरू

थाईल्यान्ड मतदान
Published

थाईल्यान्डमा सन् २०१४ मा सेनाले सत्ताकब्जा गरेपछि भएको निर्वाचनमा प्रतिस्पर्धा गरेका दुई प्रतिद्वन्द्वी समूहले गठबन्धन सरकार बनाउने प्रयास गरिरहेका छन्।

प्रारम्भिक परिणाम अनुसार फलाङ प्रचा रात पार्टी (पीपीआरपी) ले लोकप्रिय मतको ठूलो भाग पाएको देखिन्छ। तर संसद्‌मा प्रमुख विपक्षी फू थाई पार्टीले सबैभन्दा बढी सीट ल्याएको छ।

थाईल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावातले आइतवार भएको मतदानमा धाँधली भएको आरोप लगाएका छन्।

सन् २००६ मा सत्ताच्युत भएपछि आफै निर्वासनमा बस्न थालेका थाक्सिनले बीबीसीसँगको कुराकानीमा निर्वाचनमा भएको अनियमितताले आफू चिन्तित भएको बताएका छन्।

थाईल्यान्डको जटिल चुनावी प्रणालीअन्तर्गत केही संसदीय सीटहरू प्राप्त मतका आधारमा छुट्ट्याइन्छ।

तर कुनै कारण नदेखाई मतगणनाको पूर्ण परिणाम सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको आलोचना भएको छ।

आलोचकहरूका अनुसार सेनालाई समर्थन गर्ने शक्तिलाई सत्तामा राखिराख्ने उद्देश्यले सन् २०१७ मा सेनाले निर्वाचनसम्बन्धी कानुनमा परिवर्तन गरेको थियो।

अहिलेसम्मको परिणाम

सोमवार निर्वाचन आयोगले घोषणा गरेअनुसार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावातसँग नजिक रहेको फू थाई पार्टीले तल्लो सदनका पाँच सय सीटमध्ये १३७ स्थानमा जित हासिल गरेको छ।

प्रत्यक्ष निर्वाचित हुने ३५० सीट छन्।

झन्डै ९४ प्रतिशत मतको गणना भइसक्दा दलहरूको स्थिति यस्तो छ।

थाईल्यान्ड निर्वाचन परिणाम

थाईल्यान्डका वर्तमान नेता जनरल प्राइयुत जन-ओचालाई समर्थन गर्ने पीपीआरपी ९७ सीटसहित दोस्रो स्थानमा छ।

अरू तीन दल प्रत्येकले ३० देखि ३९ स्थानमा जितेका छन्।

बाँकी १५० सीटका विजेताबारे अझै स्पष्ट हुन नसकेको निर्वाचन आयोगले जनाएको छ।

यसअघि निर्वाचन आयोगले ९० प्रतिशतभन्दा मतको गणना भइसक्दा पीपीआरपीले ७६ लाख लोकप्रिय मत प्राप्त गरेको बताएको थियो।

यिङ्लक सिनावातलाई हटाएर सेनाप्रमुख प्रयुथ जन-ओचाले सन् २०१४ मा सत्ता आफ्नो हातमा लिएका थिए
तस्बिरको क्याप्शन, यिङ्लक सिनावातलाई हटाएर सेनाप्रमुख प्रयुथ जन-ओचाले पाँच वर्षअघि सत्ता आफ्नो हातमा लिएका थिए

यो सङ्ख्या फू थाई पार्टीले ल्याएको भन्दा पाँच लाखले बढी हो।

मतगणनासम्बन्धी जारी अन्योलका बीच निर्वाचन आयोगले त्यसबारे सोमवार स्पष्ट पार्ने अपेक्षा गरिएको थियो।

बरु आयोगले उल्टै प्रारम्भिक परिणाम सार्वजनिक गर्न ढिलाइ गर्‍यो।

उसले मे ९ सम्म आधिकारिक परिणाम नआउने बताएको छ।

सन् २०१४ मा थाक्सिनकी बहिनी यिङ्लक सिनावातलाई हटाएर सेनाप्रमुख प्राइयुत जन-ओचाले सत्ता आफ्नो हातमा लिएका थिए।

आठ वर्षपछि निर्वाचन

आठ वर्षपछि भएको निर्वाचनमा पाँच करोडभन्दा बढी मतदाता थिए।

थाईल्यान्ड निर्वाचन

यो निर्वाचनमा १८ देखि २६ वर्ष सम्मका ७० लाख भन्दा धेरै युवाले पहिलो पटक मतदान गर्ने अवसर पाएका थिए।

तर मतदानमा ६४ प्रतिशत मतदाता मात्र सहभागी भएको बताइएको छ।

धेरैले कम मतदान र मतगणनामा भएको अनियमितताबारे प्रश्न गरेका छन्।

अनियमितताको चर्चा

"हामीले यसलाई धाँधली भएको निर्वाचन भन्नुपर्छ," थाक्सिनले बीबीसीलाई बताए।

"थाईल्यान्डमा सबैलाई, अन्तर्राष्ट्रिय रूपमा निर्वाचनको पर्यवेक्षण गर्ने सबैलाई अनियमितता भएको थाहा छ।"

थाक्सिन

विदेशमा बस्ने भए पनि थाक्सिनको प्रभाव थाईल्यान्डको राजनीतिमा अहिले पनि बाँकी छ।

"धेरै अनियमितताहरू भए। देशको राजनीति र निर्वाचन प्रणाली त्यति प्रतिगामी भएको देखेर म चिन्तित छु," हङ्‌कङमा बीबीसीसँग कुरा गर्दै उनले भने।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

सामाजिक सञ्जालमा धेरै जनाले थाक्सिनको धारणासँग सहमति जनाउने खालका टिप्पणी गरेका छन्।

निर्वाचनमा धाँधली भएको आशयसहित केही ह्याशट्याग सोमवार ट्रेन्डिङमा देखिएका छन्।

तर निर्वाचन आयोगका महासचिवले केही "मानवीय त्रुटि" भएको भनेर मतगणनाको प्रतिरक्षा गरेका छन्।

आफूले उपलब्ध गराएको तथ्याङ्कलाई सञ्चारमाध्यमले गलत रूपमा प्रस्तुत गरेको निर्वाचन आयोगले दाबी गरेको छ। तर आफ्नो सर्भरमा ह्याकिङ आक्रमण भएको उसले बताएको छ।

Presentational grey line

चातुर्य र शक्तिको विषय

बीबीसीका निक बीकको विश्लेषण

निर्वाचनमा विजेताको परिभाषा के हो? मतपत्रमा उत्तर दिनुहोस्।

देशभरि धेरै मत ल्याउने दल हो कि संसद्‌मा धेरै स्थान ल्याउने दल?

थाईल्यान्ड जहाँ बन्दुकको नालमा शक्ति खोज्न सकिन्छ त्यहाँ यो ठूलो संवैधानिक परिभाषाको विषय हैन। बरु चातुर्य र बलको विषय हो।

निर्वाचन गर्ने वाचा बारम्बार गर्दै तर सार्दै आएका सैनिक शासकले आफ्नो पक्षमा निर्वाचन पद्धति पारेर मतदान गराए।

आफूखुसी छानिएका व्यक्तिको सिनेटबाट प्राप्त समर्थनमा जनरल प्राइयुतको विजय खोक्रो र अवैधानिक हुने धेरैलाई लागेको थियो।

तर पहिला जननिर्वाचित सरकारलाई अपदस्थ गरेका उनीसँग अब सेनालाई समर्थन गर्ने फलाङ प्रचा रात पार्टीको समर्थनमा बहुमत हुँदा प्रजातान्त्रिक जनमत पुग्न सक्छ।

विपक्षी फू थाई पार्टीलाई भने त्यस्तो लाग्दैन।

उसलाई संसद्‌मा धेरै सीट जित्नु उपलब्धि हो भन्ने लागेको छ। र, सेनालाई समर्थन नगर्ने दलहरूसँग गठबन्धन बनाउन पाउनुपर्छ भन्ने उसको धारणा छ।

Presentational grey line

थाईल्यान्डको निर्वाचन प्रणालीले कसरी काम गर्छ?

सेनाले सन् २०१७ मा नयाँ संविधान जारी गर्‍यो।

थाईल्यान्ड निर्वाचन

सेनालाई समर्थन गर्ने शक्तिलाई सत्तामा रहन दिने गरी त्यसको निर्माण भएको छ।

पाँच सय सदस्य हुने तल्लो सदनका लागि मात्र मतदान हुन्छ। सेनाले २५० सदस्य हुने माथिल्लो सदनमा आफै मनोनयन गर्छ।

प्रधानमन्त्री निर्वाचन गर्न भने दुवै सदनका सदस्यको भूमिका हुन्छ।