अण्डर १९ विश्वकप क्रिकेट छनोट: वर्षाले प्रभावित खेलमा नेपाल एक रनले पराजित

रीत गौतम र पवन सर्राफ
Published

अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताको एशिया छनोट प्रतियोगितामा नेपालले यूएईसँग एक रनले पराजित भएको छ।

शनिवार मलेशियाको किनरारा मैदानमा भएको खेलमा पहिलो खेल खेलिरहेका हरि चौहान र भीम सार्कीको पचास अर्धशतकको मद्दतले नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनायो।

यूएईले भने ३० ओभरमा तीन विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षाले खेल रोकेपछि डिएलएस मेथडको आधारमा यूएई विजयी भयो।

छ राष्ट्र सम्मिलित प्रतियोगिताको विजेताले सन् २०२० मा दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिका खेलाडीको विश्वकप क्रिकेट प्रतियोगिताका स्थान पाउनेछ।

वर्षाको अवरोध

मैदानमा २४८ रनको लक्ष्य लिएर आएको यूएईको सुरुवात राम्रो भएन्। पाँच ओभरभित्रै २२ रनमा यूएईले दुई विकेट गुमायो।

तर अन्स टन्डन र भिर्त्या अराविन्दले १०१ रनको साझेदारी खेल्दै यूएईलाई खेलमा फर्काए। वर्षाले खेल रोक्नु अगाडीको अन्तिम बलमा सौरभ ढकालले टन्डनको विकेट लिए।

सम्हालिएको ब्याटिङ प्रदर्शन

यूएईले टस जितेर नेपाललाई पहिले ब्याटिङ गर्न निमन्त्रण गर्‍यो। शुक्रवारको खेलमा सिङ्गापुरलाई २१७ रनले हराउँदा म्यान अफ द म्याच भएका पवन सर्राफ लामो समय टिक्न सकेनन्।

सर्राफ १२ रन बनाएर आउट भए तर उनीसँग सुरुमा आएका रीत गौतम र आसिफ शेखले इनिङ सम्हाले।

हरि चौहान
तस्बिरको क्याप्शन, नेपालका हरि चौहान म्यान अफ द म्याच भए

शेखले २७ बनाए भने कप्तान रोहित पौडेल १८ रनमा आउट भए।

गौतम ४४ रन बनाएर आउट हुँदा नेपालको स्कोर पाँच विकेटमा ११५ रन थियो र नेपाली ब्याटिङ असफल हुने सम्भावना देखियो।

तर चौहान र सार्कीले धैर्यपूर्वक खेले र दुवैले पचास रन पूरा गरे। सार्की ५४ बलमा चार चौका र दुई छक्काको सहायताले ५३ रन बनाएर आउट हुँदा नेपालले २०७ रन जोडिसकेको थियो।

चौहान भने अन्तिमसम्म नटआउट रहे र ७४ बलमा सात चौकाको बलमा ६७ रन बनाएर नेपाललाई राम्रो स्कोरमा पुर्‍याए।

यूएईको तर्फबाट सबैभन्दा सफल बलर रिषभ मुखर्जी रहे जसले ६४ रन खर्चेर चार विकेट लिए। मोहम्मद फराजुद्दिनले तीन विकेट लिए।

अण्डर १९ विश्वकप क्रिकेट छनोट प्रतियोगिता - एशिया २०१९. अङ्क तालिका (अप्रिल १३ को खेलको समाप्तिमा). .

छनोटको अवस्था

प्रतियोगिताको दोस्रो चरण सकिदाँ यूएई र कुवेत दुई दुई खेल जितेर शीर्ष स्थानमा छन् भने नेपाल र ओमानले एक-एक खेल जितेका छन्।

आयोजक मलेशिया र सिङ्गापुरले दुवै खेल हारेका छन्।

प्रतियोगिताको विजेता मात्रै विश्वकपमा छनोट हुन्छ।

नेपालले अर्को खेल सोमवार आयोजक मलेशियासँग खेल्नेछ।