भूकम्पको चार वर्ष: रातो स्टिकर टाँसिएको भवनमा बसेर काम गर्छन् कर्मचारी

तस्बिर स्रोत, NHRC
चार वर्षअघि गएको भूकम्पले ललितपुरको हरिहर भवनलाई नराम्ररी क्षतिग्रप्त तुल्याइदिएपछि उच्च जोखिमयुक्त मान्दै त्यसमा रातो स्टिकर टाँसियो।
त्यसपछि त्यहाँ रहेका निजामती किताबखाना, राष्ट्रिय पुस्तकालय र राष्ट्रिय मानव अधिकार आयोग कार्यालय भवनको विकल्पको खोजीमा लागे। एउटै भवनभित्र रहेका कार्यालयहरू तितरबितर हुने क्रम सुरु भयो।
राष्ट्रिय मानव अधिकार आयोग चाहिँ चर्किएको पुरानो भवननजिकै टहरामा सर्न बाध्य भयो। तैपनि कर्मचारीको जोखिम र डर हट्न सकेको छैन।
आयोगका निर्देशक टीकाराम पोखरेलले बीबीसी नेपाली सेवासँग भने, "पुरानो भवन भत्कियो भने हाम्रो अस्थायी कार्यालयमा क्षति पुग्न सक्ने अवस्था छ।"
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको भनाइमा "रातो स्टिकर टाँसिएका अर्थात् पूर्ण जोखिममा रहेका कुनै पनि भवनमा अहिले कर्मचारी वा अन्य व्यक्ति बसिरहेका छैनन्।"
तर वास्तविकता अर्कै छ।
बागलुङका यी कर्मचारीको बाध्यता
भूकम्पले तुलनात्मक रूपमा कम क्षति पुर्याएको पश्चिम नेपालको बागलुङमा उच्च जोखिमयुक्त भनिएको चर्किएको सरकारी भवनमा भूकम्पलगत्तै टाँसिएको रातो स्टिकर अहिले निकालिएको छ।
उच्च अदालत पोखराको बागलुङ इजलासको चर्किएको भवनमा कर्मचारीहरू मनमा डर राख्दै काम गर्न बाध्य छन्।

बागलुङस्थित बीबीसी संवाददाता रबिना बोहराका अनुसार चार वर्षअघि शहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक टोलीले त्यो भवनलाई पूर्ण क्षति भएको ठहर्याउँदै रातो स्टिकर टाँसेको थियो।
उनी भन्छिन्, "तर अहिलेसम्म पनि न त त्यो कार्यालयलाई अस्थायी संरचनामा सारिएको छ, न त त्यसको पुनर्निर्माण नै सुरु हुन सकेको छ।"
सर्वसाधारणले २०७२ सालमा गएको भूकम्प बिस्तारै बिर्सिन थालेका छन्। तर बागलुङमा भित्ता तथा भुइँ चर्किएको त्यो भवनभित्र बसेर काम गर्ने कर्मचारीलाई भने अझै डरले छोडेको छैन।
कर्मचारी समुद्र रेग्मी भन्छिन्, "फेरि भूकम्प जाला र भवन भत्किएला भन्ने भन्ने डर लाग्छ। यहाँ सेवा लिन आउने सेवाग्राही पनि डराउने गर्छन्।"
उच्च अदालत पोखराको बागलुङ इजलासले गण्डकी प्रदेशका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका मुद्दा हेर्दै आएको छ।
त्यहाँ हरेक दिन सेवाग्राहीको भिड लाग्ने गर्छ। भत्किएको भवन पुनर्निर्माणका लागि रकम अभाव भएको अदालतका रजिस्ट्रार ध्रुवकुमार ढकालले बताए।
उनका अनुसार इजलासको भवन निर्माणको लागि नक्सा बनाउने, लागत हिसाब गर्नका लागि शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङलाई अनुरोध गरिसकिएको छ।
तर प्रगति भने खासै केही भएको छैन।
रातो स्टिकर र पहेँलो स्टिकर कहाँकहाँटाँसिएको छ?
विनाशकारी भूकम्पलगत्तै सरकारी अधिकारीहरूले पूर्ण क्षति भएका भवनमा रातो स्टिकर र आंशिक क्षति पुगेका भवनमा पहेँलो स्टिकर टास्ने क्रम तीव्र बनाएका थिए।
प्रारम्भिक आकलनपछि भूकम्प प्रभावित ३१ जिल्लामा त्यो काम गरिएको थियो।
भूकम्पमा आठ लाखभन्दा बढी निजी आवास क्षतिग्रस्त हुन पुगेको थियो।
चार वर्पपछिसम्म पुनर्निर्माणको काम ५० प्रतिशत पूरा भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली बताउँछन्।
निजी आवास निर्माणको काम ८० प्रतिशत जति पूरा भएको र पुरातात्विक संरचना बाहेकका काम आउने दुई वर्षमा सक्ने सरकारको योजना छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली भन्छन्, "रातो स्टिकर लगाइएका सबै भवनहरूको पुनर्निर्माण र पहेँलो स्टिकर लगाइएका भवनको प्रबलीकरण गर्नु पर्छ। हामीले अहिले ती दुवै कामलाई अघि बढाइरहेका छौँ।"



















