किम जङ-नाम: उत्तर कोरियाली नेताका सौतिनी दाजुको हत्यामा सन्दिग्ध भियतनामी महिला पनि मुक्त

भियतनामकी द्वान ती हङ
तस्बिरको क्याप्शन, भियतनामकी द्वान ती हङ अब स्वदेश फर्किने उनका वकिलले बताएका छन्
Published

सन् २०१७ मा उत्तर कोरियाली नेता किम जङ-अनका सौतिनी दाजु किम जङ-नामको हत्याको अभियोग लागेकी भियतनामी महिला रिहा भएको उनका वकिलले बताएका छन्।

उनले "चोट पुर्‍याउने कार्य" गरेको सानो अभियोग स्वीकार गरेकी थिइन्।

त्यस्तो अभियोग स्वीकार्ने सहमति मलेशियाली अभियोजनकर्ताहरूसँग गरेकाले उनलाई मुक्त गरिएको बताइएको छ।

हङ र इन्डोनेशियाली महिला सिती ऐस्याहले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा किम जङ-नामलाई भीएक्स नामक स्नायुप्रणालीमा असर पार्ने विषालु पदार्थ घसेको अभियोग लगाइएको थियो।

यसअघि मार्च महिनामा ऐेस्याहविरुद्ध लागेका अभियोगहरू फिर्ता भएपछि उनलाई छोडिएको थियो।

हत्याको आरोप अस्वीकार

द्वान र सिती
Presentational white space

दुवै महिलाले आफूहरूले कसैको हत्या गर्ने प्रयास नगरेको र आफूहरू टेलिभिजनका लागि बनाउन लागिएको "प्र्याङ्क" अर्थात् उटुङ्गो कार्यक्रममा सहभागी भएको ठानेको बताउँछन्।

आफूहरूलाई एउटा उत्तर कोरियाली षड्यन्त्रको हिस्सा बनाइएको र आफूहरू निर्दोष भएको उनीहरूले दाबी गरेका थिए।

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको त्यो हत्याले धेरै पर्यवेक्षकहरूलाई चकित तुल्याइदिएको थियो। त्यसबारे विश्वभरि चर्चा भएको थियो।

भियतनामकी हङ शुक्रवार रिहा भएकी हुन्। उनलाई छोटो कैद सजाय सुनाइएको थियो तर त्यसलाई अझै छोट्याइएको छ।

इन्डोनेशियाकी सिती ऐस्याह चाहिँ अभियोग फिर्ता गरिएपछि गत मार्च महिनामा रिहा भएकी थिइन्। तर उनको मुद्दा किन फिर्ता गरियो भन्ने खुलाइएको छैन।

हत्या कसरी भयो?

फेब्रुअरी १३, २०१७ को दिन किम जङ-नाम मकाऊ जाने विमान कुरेर क्वालालम्पुर विमानस्थलमा बसेका थिए। विमानस्थलको प्रस्थान क्षेत्रमा दुई महिलाहरू उनी भएको ठाउँनजिकै गए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सीसीटीभी दृष्यमा यस्तो देखिन्छ
Presentational white space

सीसीटीभी दृष्यमा उनीहरूमध्ये एक जनाले किमको अनुहारमा हात राखिन् र दुवै जना तत्कालै त्यहाँबाट भागे।

अस्पताल लैजादालैजादै किमको बाटैमा मृत्यु भयो।

पछि उनलाई भीएक्स नर्भ एजेन्ट भनिने स्नायुप्रणालीमा असर पुर्‍याउने शक्तिशाली विष प्रहार गरिएको पत्ता लाग्यो।

सास फेर्दा त्यो विषको एक थोपा मात्रै पनि शरीरभित्र पुगे ज्यान जान्छ।

सीसीटीभी
सीसीटीभी
Presentational white space

उत्तर कोरियाले सो घटनामा आफ्नो संलग्नता नभएको दाबी गर्ने गरेको छ। तर किमको हत्या भएको दिन चार उत्तर कोरियालीहरू मलेशियाबाट भागेका थिए।

उनीहरू चारै जनाविरुद्ध पनि मुद्दा चलाइएको छ।

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टर्पोलले रेड कर्नर नोटिस जारी गरेको भए पनि उनीहरूको अत्तोपत्तो लागेको छैन।

किम जङ-नाम को हुन्?

किम जङ-नाम उत्तर कोरियाका नेता किम जङ-अनका सौतिनी दाजु थिए।

किम जङ-नाम
Presentational white space

पहिला किम जङ-नामलाई निरङ्कुश शासक किम जङ-इलको उत्तराधिकारीका रूपमा हेरिन्थ्यो। तर सन् २०११ मा बुवाको मृत्यु भएपछि किम जङ-अन देशका सर्वोच्च नेता बने।

किम जङ-नाम परिवारबाट परित्यक्तजस्तै थिए। उनी प्राय: मकाऊ, चीन र सिङ्गापुरमा बस्थे।

उनले देशमा परिवारको शासनविरुद्ध असन्तुष्टि व्यक्त गरेका थिए।

सन् २०१२ मा प्रकाशित एउटा पुस्तकमा उनले किम जङ-अनमा नेतृत्वका लागि आवश्यक गुण नभएको टिप्पणी गरेका थिए।