के नवगठित पार्टीले समाजवादी धार समात्ला?

तस्बिर स्रोत, RSS
नवगठित समाजवादी पार्टी नेपालमा उनीहरूकै शब्दमा 'पुरानै पात्र र प्रवृत्तिहरू' रहेकाले उक्त पार्टी पनि 'नयाँ वैकल्पिक शक्ति' बन्न नसक्ने राजनीतिक विश्लेषक र नागरिक अगुवाहरूले बताएका छन्।
सोमवार घोषणा भएको उक्त पार्टीका नेताहरूले चाहिँ आफ्नो पार्टीलाई 'नयाँ परिवर्तनकारी शक्ति' र 'काङ्ग्रेस र कम्युनिस्टको विकल्प'का रूपमा व्याख्या गरेका छन्।
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भई उक्त पार्टीको गठन भएको हो।
सोमवार राजधानी काठमाण्डूमा पार्टी एकीकरणको घोषणा गर्दै उक्त पार्टीका नेताहरूले 'संघीयताको पूर्ण कार्यन्वयनका लागि' सडकदेखि सदनसम्म संघर्ष गर्नसक्ने चेतावनी समेत दिएका छन्।
एकीकरणपूर्व पनि सत्तामा रहेको संघीय समाजवादी फोरमले संविधान संशोधनको माग गर्दै त्यसो नगरिए सरकार छाड्ने चेतावनी दिँदै आएको थियो।
'पुरानै पात्र र प्रवृत्ति'
नेताहरूले समाजवादी पार्टीलाई नयाँ परिवर्तनकारी शक्तिका रूपमा व्यख्या गरिरहेका बेला राजनीतिक विश्लेषकहरू र नागरिक समाजका अगुवाले भने त्यसलाई पत्याएका छैनन्।
राजनीतिशास्त्रका एकजना प्राध्यापक लोकराज बराल भन्छन्, "बाबुरामजीले नयाँ विकल्प भन्दै आउनु भएको छ तर त्यो फोरमका लागि कति ग्राह्य छ भन्नेमा भर पर्छ।"
उनी अहिलेकै एकीकरणका आधारमा यो पार्टी वैकल्पिक वा तेस्रो शक्ति बन्न सक्छ भन्न नसकिने बताउँछन्।

तस्बिर स्रोत, RSS
"यसले बाबुराजमीको बार्गेनिङ शक्ति चाहिँ बढाउँछ तर अहिले नै तेस्रो शक्ति बन्ने चाहिँ देखिदैन," बरालले भने।
राजनीतिक विश्लेषक झलक सुवेदी उक्त पार्टीमा 'पुरानै राजनीतिक खेलाडी र प्रवृत्ति रहेकाले' नयाँ वैकल्पिक शक्ति बन्नेमा विश्वास गर्न नसकिने बताउँछन्।
उनी भन्छन्, "बाबुरामजी मूलधारको राजनीतिबाट बाहिरिएर आफ्नै परियोजनामा लाग्दा फेल भएपछि र उपेन्द्रजी र अशोकजीहरू पहिचानको राजनीतिबाट आएर मिलेका हुन्। उनीहरूले राजनीतिका लागि ठीकै गरेका होलान् तर यो नयाँ दिशा दिने वैकल्पिक शक्ति बन्ला भन्ने लाग्दैन।"
अर्का विश्लेषक श्याम श्रेष्ठ चाहिँ 'यो पार्टी पनि मध्यम वर्गीय जनतालाई लिएर राजनीति गर्ने अर्को नयाँ पार्टीका रूपमा आएको' बताउँछन्।
उनी भन्छन्, "यो पार्टी पनि भइरहेका पार्टीहरूभन्दा फरक हुने देखिँदैन। यसले कुनै पनि नयाँ कार्यक्रम ल्याएको छैन। अलिकति समावेशी र समानुपातिक कुरामा जोड दिएको मात्र छ।"
उनी 'वर्तमान सत्तारूढ दल अलोकप्रिय बनिरहेकाले यो पार्टीले केही धक्का दिनसक्ने' चाहिँ ठान्छन्।
श्रेष्ठ भन्छन्, "यसमा नयाँ शक्ति बन्ने खालको कुनै वैचारिक कुराहरू पनि देखिएन।"
नागरिक अगुवा देवेन्द्रराज पाण्डे चाहिँ विगत ८-१० वर्षको राजनीतिक अवस्थाले आम जनमानसमा तेस्रो पार्टी चाहिन्छ भन्ने बहस उठेको भएपनि त्यसलाई पूरा गर्ने क्षमता यो पार्टीले राख्छ राख्दैन अहिले नै भन्न नसकिने बताउँछन्।
समाजवादको मोह
नेपालका अन्य धेरै पार्टीहरूले जस्तै यो पार्टीले पनि आफ्नो सिद्धान्तमा 'सम्मुनत संघीय समाजवाद'लाई अघि सारेको छ।
अझ उसले आफ्नो नाम नै समाजवादी पार्टी राखेकाले पनि यसको समाजवादप्रतिको मोह देखाउने विश्लेषकहरू बताउँछन्।
तर नेपालका धेरै दलहरूले समाजवादको राग अलापे पनि समाजवादी आचरण भने नगरेको आरोप लाग्ने गरेको छ।

तस्बिर स्रोत, BISHWADEEP PANDEY/FACEBOOK
यो पार्टीले पनि लोकप्रियता बढाउनका लागि मात्र समाजवाद शब्दको उपयोग गर्न खोजेको कतिपयको विश्लेषण छ।
त्यस्तैमध्येका विश्लेषक सुवेदी भन्छन्, "अहिले नेपाली राजनीतिमा देखिएको प्रवृत्ति भनेकै के हो भने भन्नलाई समाजवादी भन्ने तर उदारवादी बाटोमा हिँड्ने। त्यसको कारण भनेको समाजवादतर्फ झुकेको मत आधारलाई प्रभावमा पार्ने हो। यो पार्टीले पनि त्यही मत आधारलाई तान्न समाजवादको उपयोग गर्न खोजेको देखिन्छ।"
प्राध्यापक बराल भने नेपालको हकमा समाजवाद भनेको अन्यत्र बुझिने भन्दा फरक भएको बताउँछन्।
उनी भन्छन्, "हाम्रो समाजवाद भनेको लोकतान्त्रिक समाजवाद नै हो। त्यसैले यो पार्टीको समाजवादलाई पनि त्यही अर्थमा बुझ्नुपर्छ।"
नागरिक अगुवा पाण्डेचाहिँ समाजवाद नेपालमा जसले पनि उच्चारण गर्ने शब्द भएको बताउँछन्।
पाण्डेले भने, "मैले विद्यार्थी हुँदा 'समाजवाद एउटा टोपी हो त्यसलाई जसको टाउकोमा लगाए पनि ठीक हुन्छ' भन्ने कसैको भनाइ सुनेको थिएँ। अहिले नेपालमा त्यस्तै भइरहेको छ।"
विश्लेषक श्रेष्ठचाहिँ यो पार्टी पनि समाजवादको बाटोमा जाने गरि नआएको ठान्छन्।
उनी भन्छन्, "समाजवाद भनेकै मजदुर वर्गलाई सत्ताको केन्द्रमा ल्याउने हो। तर नेपालमा त्यस्तो भएकै छैन। यो पार्टीको नाम समाजवादी भए पनि यसका कार्यक्रमहरूले मजदुर वर्गलाईभन्दा मध्यमवर्गलाई धेरै सम्बोधन गरेको देखिन्छ।"
नेताका दाबी
विश्लेषकहरूले शंका गरे पनि सोमवार राजधानीमा भएको घोषणासभामा बोल्दै उक्त पार्टीका नेताहरूले भने आफ्नो पार्टी नयाँ र वैकल्पिक शक्ति नै बन्ने दाबी गरेका छन्।
कार्यक्रममा बोल्दै समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पार्टी "काङ्ग्रेस र कम्युनिस्टको विकल्पको रूपमा आउने" दाबी गरे।
उनले २५ सय वर्षअघि नेपालबाट गौतम बुद्धले दिएको सन्देशपछि त्यस्तै विश्वभर सन्देश दिने गरि आफ्नो पार्टी उदाउने दाबी गरे।
उनले भने, "सबै तह र तप्काका उत्पीडित जनतालाई समतामूलक अवसर दिने सुविचारित वैचारिक धरातलमा यो उभिएको छ।"
पार्टीका कार्यसमिति अध्यक्ष उपेन्द्र यादवले चाहिँ आफ्नो पार्टीलाई 'नयाँ परिवर्तन गर्ने शक्ति' भनेका छन्।
उनले आफ्नो पार्टी 'वर्गीय, वर्णीय र लिङ्गीय विभेदरहित' हुने दाबी गरे।




















