नेपाल-भारत सीमा विवाद: लिपुलेक क्षेत्रमा नेपालको सशस्त्र प्रहरीले चौकी स्थापना गर्दै

तस्बिर स्रोत, Kiran Bhattarai / Facebook
नेपालले दाबी गरेको भूमिमा भारतले सडक निर्माण गरेसँगै बढेको सीमा विवादबीच लिपुलेक क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरीले एउटा टोली बुधवार तैनाथ गर्दैछ।
काठमाण्डूबाट गएको नेपाली सेनाको हेलिकोप्टरले दार्चुलाबाट सशस्त्र प्रहरीको ५० नम्बर गुल्मबाट सुरक्षाकर्मी बोकेर दार्चुलास्थित व्यास गाउँपालिका-१ स्थित छाङरु पुग्ने र ३,७०० मिटर उचाइको स्थानमा चौकी स्थापना गर्ने बताइएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता प्रविन कुमार श्रेष्ठले बीबीसीलाई भने, "पूर्वतयारी अनुसार सुरक्षाकर्मीलाई आजै छाङरु पुर्याउने र हेलिकोप्टर त्यहाँ पुगेपछि आगामी दिनमा उक्त क्षेत्रमा कति सुरक्षाकर्मी जाने भन्ने विषय निर्क्योल हुनेछ।"
भारतले सीमा क्षेत्रमा सडक निर्माण गरिरहेको तथ्य सार्वजनिक भएसँगै उक्त विषयमा ठोस कदम चाल्न सरकारलाई चौतर्फी रूपमा दबाब परेका बेला सीमा निगरानी चौकी स्थापना गर्न लागिएको हो।
पूर्वाधारको अवस्था
सुरक्षाकर्मी तत्कालका लागि उक्त क्षेत्रमा भाडाको घरमा बस्ने छन्।
"त्यसको अर्थ त्यो क्षेत्र आममानिसको बसोबास भएकै क्षेत्र हो भन्ने हो," श्रेष्ठले बीबीसीसँग भने।
उच्च भागमा पर्ने उक्त क्षेत्रमा सुरक्षा अधिकारीहरू पुगेपछि आन्तरिक सञ्चारका लागि आवश्यक पर्ने पूर्वाधारलगायतका तयारी गर्ने बताइएको छ।
उक्त क्षेत्रमा कति सुरक्षाकर्मीको आवश्यकता पर्नेछ भन्ने विषयमा भने अहिले नै यकिन नभएको श्रेष्ठ बताउँछन्।
"सङ्ख्या निर्धारणमा धेरै कुराहरू जोडिएका हुन्छन्। त्यहाँको अवस्था र हेलिकोप्टरको क्षमताका आधारमा त्यो तय हुन्छ," उनले भने।

तस्बिर स्रोत, Kiran Bhattarai / Facebook
कस्तो छ स्थान?
श्रेष्ठका अनुसार उच्च भेग भएकाले तालिमप्राप्त टुकडी खटाउने तयारी छ।
"लेक लाग्ला भनेर औषधिको व्यवस्था गरिएको छ। त्यसबाहेक अन्य आवश्यक पर्ने औषधिहरूको पनि जोहो गरिएको छ," उनले भने।
सशस्त्र प्रहरी बल मुस्ताङ र मनाङका हिमाली भेगमा पनि बसिरहेकाले सामान्य तालिमप्राप्त टुकडी त्यहाँ पुग्ने श्रेष्ठ बताउँछन्।

तस्बिर स्रोत, RSS
अन्य क्षेत्रमा जस्तै उक्त सीमा निगरानी चौकीमा पनि प्रहरी निरीक्षकको नेतृत्व रहने छ।
श्रेष्ठका अनुसार सरकारले सीमा निगरानी चौकी थप्ने भनेर गरेको निर्णयका आधारमा गर्न लागिएको हो।
"पहिले हामीसँग १०७ वटा त्यस्ता चौकी थिए। त्यसमा थपेर २२१ वटा बनाउने कुरा भएको छ," उनले भने।
सीमाबाट दूरी
श्रेष्ठका अनुसार भारतीय सीमा सुरक्षा बलको चौकी अन्तर्राष्ट्रिय सीमाभन्दा एक किलोमिटर पर छ।
नेपालले पनि लगभग त्यति नै दूरीमा आफ्नो चौकी स्थापना गर्न लागेको उनी बताउँछन्।

तस्बिर स्रोत, Reuters
दार्चुला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले पनि छाङरुमा सशस्त्रले स्थापना गर्न लागेको चौकीबाट नेपाल र भारत छुट्टिने स्थान करिब एक किलोमिटरको दुरीमा भएको बताए।
हाल सशस्त्रले स्थापना गर्न लागेको चौकीभन्दा माथि नेपाल प्रहरीको उपस्थिति रहेको कुँवरले बीबीसीलाई जानकारी दिए।
हाल भारतले निर्माण गरिरहेको भनिएको सडक रहेको क्षेत्र पनि सशस्त्रको उपस्थिति रहने स्थानभन्दा केही माथि रहेको उनले बताए।



















