कोरोना भाइरस नेपाल: विभिन्न जिल्लामा ९० जनामा कोभिड-१९ पुष्टि, कुल सङ्ख्या ७७२ पुग्यो

तस्बिर स्रोत, Getty Images
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ९० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि गरेको छ।
मङ्गलवार अपराह्ण नियमित प्रेस ब्रीफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको सङ्ख्या ७७२ पुगेको जानकारी दिए।
यो अहिलेसम्म दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो।
सङ्क्रमितहरू विभिन्न जिल्लामा फेला परेका हुन्।
डा. देवकोटाका अनुसार नारायणी अस्पतालबाट थप ४३ जना कोभिड-१९ मुक्त भएर अस्पतालबाट बिदा भएका छन्।
अब निको हुनेको कुल सङ्ख्या १५५ पुगेको छ। सङ्क्रमण पुष्टि भएकामध्ये चार जनाको मृत्यु भएको छ।

अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्क्रमित छन्।
मङ्गलवार अपराह्णसम्म देशका विभिन्न स्थानमा ५५,२८२ जना क्वारन्टीनमा भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
यो अहिलेसम्म क्वारन्टीनमा भएका मानिसको सर्वाधिक सङ्ख्या हो।
तीमध्ये प्रदेश नं ५, प्रदेश नं २, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका क्वारन्टीनमा सर्वाधिक सङ्ख्यामा मानिसहरू छन्।
उनीहरूमध्ये अधिकांश व्यक्ति भारतबाट फर्किएको बताइएको छ।

तस्बिर स्रोत, RSS
नेपालमा अहिलेसम्म ५४,४२४ वटाभन्दा बढी नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।
अहिले छिमेकी देश भारतमा सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ।
भारतबाट बिनपरीक्षण अनियन्त्रित रूपमा नेपालीहरू फर्किँदा रोग फैलिने सम्भावना बढेको विज्ञहरू बताउँछन्।
जेठ १३ गते मङ्गलवार अपराह्ण ४:३५ बजेसम्मको तथ्याङ्क
७७२कुल सङ्क्रमण
१५५अहिलेसम्म निको
पीसीआर विधिबाट परीक्षण ५४,४२४
चिकित्सकीय निगरानीमा अलग्गै५८२
देशभरि क्वारन्टीनमा५५,२८२
सङ्क्रमित भेटिएका जिल्ला४६
को हुन् सङ्क्रमित?
मङ्गलवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न प्रदेशका १५ जिल्लाका हुन्।
तीमध्ये कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२ र बाँकेका आठ जना छन्।
त्यसैगरी सिराहाका पाँच जना, बाराका तीन जना र महोत्तरी, गुल्मी, अर्घाखाँची तथा स्याङ्जामा दुई-दुई जनामा पनि कोभिड-१९ पुष्टि भयो।
मन्त्रालयका अनुसार जुम्ला घर भई बारामा कार्यरत दुई जनामा पनि सङ्क्रमण पुष्टि भएको छ। धनुषा, रूपन्देही, कैलाली र अछाममा एक-एक जनामा सङ्क्रमण देखिएको छ।
उनीहरू विभिन्न उमेर समूहका भएका पनि अधिकांश पुरुष छन्।
सर्वाधिक सङ्क्रमण देखिएका देशहरू
१,५७,८१४टर्की
१,४४,९५०भारत
८४,१०२चीन
५६,३४९पाकिस्तान
३५,५८५बाङ्ग्लादेश
अब अस्पतालमा आलोपालो
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अस्पतालमा कार्यरत जनशक्तिलाई दुई समूहमा विभाजन गरेर काम लगाउने निर्णय भएको छ।
कोभिड-१९ रोकथाम र व्यवस्थापन गर्दा स्वास्थ्यकर्मी र सहयोगीहरू सङ्क्रमित हुन गई सेवा प्रवाहमा निरन्तरता दिन कठिनाइ हुन सक्ने भएकाले सबै अस्पतालहरूलाई उपलब्ध जनशक्तिलाई सुरक्षित र व्यवस्थित गर्न दुई समूह बनाई आलोपालो काममा खटाउन सचिवस्तरीय निर्णय भएको केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले एउटा विज्ञप्तिमा जनाएका छन्।
उक्त निर्णयानुसार एउटा टोलीले एक हप्ता र अर्को टोलीले अर्को हप्ता काम गर्नेछ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा






















