कोरोना भाइरस नेपाल: भारतबाट कालीकोट फर्किएका मानिस चढेको टिपर कर्णाली नदीमा खस्दा दुई जनाको मृत्यु, अरू दुई जना बेपत्ता

कर्णाली नदी
    • Author, कृष्णमाया उपाध्याय
    • Role, बीबीसी न्यूज नेपाली, जुम्ला
  • Published

कर्णाली नदीमा एउटा टिपर खस्दा कम्तीमा दुई जनाको मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताएका छन्। दुवै मृतक महिला हुन्।

दुर्घटनापछि नदीमा हराएकामध्ये ३४ जनालाई जीवितै उद्धार गरिएको र १२ घाइतेलाई अस्पताल पठाइएको अधिकारीहरूले बताएका छन्।

एक महिला र एक बालिका गरी दुई जना अझै बेपत्ता छन्।

गैरैका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएकाले प्रदेश सरकारको सहयोगमा हेलिकप्टरमार्फत् सुर्खेत र काठमाण्डू पठाइएको छ।

अरू घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको डा. कटक महतले जानकारी दिए।

डा. महतका अनुसार गम्भीर घाइते भएकी २० वर्षीया महिलाका तीनमहिने शिशु सकुशल छन्।.

दुर्घटना लालीघाटमा बिहान साढे १० बजेतिर भएको हो।

कालीकोट

अधिकांश भारतबाट फर्किएका

उक्त टिपरमा चढेकामध्ये अधिकांश व्यक्ति भारतबाट घर फर्किएका मानिस भएको र उनीहरूलाई जितेबाट रासकोटतिर क्वारन्टीनमा राख्न लगिँदै गरेको बुझिएको छ।

उद्धारको लागि नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको थियो।

दुर्घटनापछि नदीमा बेपत्ता भएका दुई जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

टिपरमा ३९ जना चढेको बताइएको छ। यात्रीहरूका अनुसार टिपरको क्षमताभन्दा बढी मानिस चढेकोले दुर्घटना भएको हो।

भारतमा कार्यरत नेपालीहरू अहिले घर फर्किने क्रम बढेको छ। कर्णाली प्रदेशमा अहिले भारतबाट फर्किएका हजारौँ मानिसहरू क्वारन्टीनमा छन्।

बीच बाटोबाट पनि चढेका थिए यात्री

नदीबाट पौडी खेलेर आफ्नो ज्यान जोगाएकी एक महिलाका अनुसार उक्त टिपरमा उनीसहित अरू केही मानिस बीच बाटोबाट चढेका थिए।

पहिला कोरोनाभाइरस सर्ने डरले आफूहरू चढ्न नमानेको भए पनि चालकले केही हुँदै भनेर गाडी चढाएको र धेरै मानिस भएकाले दुर्घटना भएको उनको भनाइ छ।

"मेरा फुपू, देउरानी र उनकी छोरी हराए," कालीकोटको रासकोट नगरपालिका घर भएकी ३५ वर्षीय मनिता सार्कीले भनिन्।

"म पानीमा खसेकी हुनाले पौडी खेलेर बाँच्न सफल भएँ। नदीको छेउमा खसेकाहरूलाई धेरै चोट लागेको छ। मलाई अलिकति मात्र खुट्टामा चोट लागेको छ।"

"मसँगै आएकाहरू छेउमा परेर धेरै चोट लाग्दा तत्काल उद्धार नभएपछि मर्नुपरेकोले दु:ख लागेको छ," उनले भनिन्।