कोरोना भाइरस नेपाल: सङ्क्रमण १० हजार नजिक, दुई हजारभन्दा बढी निको

तस्बिर स्रोत, Getty Images
नेपालमा विगत २४ घण्टामा थप ५३५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।
योसँगै सोमवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ९,५६१ पुगेको छ।
तीमध्ये २,१४२ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ।
विगत २४ घण्टामा ३७० जना कोरोनाभाइरसमुक्त भएर अस्पतालबाट घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
असार ४ गते सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस फेला परेको बताएको थियो।
अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति भेटिएका छन्।

कहाँ सबैभन्दा बढी सङ्क्रमण?
सोमवारसम्मको तथ्याङ्कमा प्रदेश नं २ मा ३,१५९ सङ्क्रमण र प्रदेश नं ५ मा २,६८२ जना सङ्क्रमण पुष्टि भएको छ।
सबैभन्दा कम वागमती प्रदेशमा ३०९ र गण्डकी प्रदेशमा ५९५ सङ्क्रमण भेटिएको छ।
त्यस्ते प्रदेश नं १ मा ४७०, सुदूरपश्मिमा १,०६७ र कर्णालीमा १,२७९ सङ्क्रमण पुष्टि भएको छ।
सबैभन्दा बढी सङ्क्रमण भएको जिल्ला रौतहट रहेको छ जहाँ १,१४६ सङ्क्रमित रहेका छन् भने दैलेखमा ७२६, कपिलवस्तुमा ७०५, सर्लाहीमा ६१४, महोत्तरीमा ५२७, बाँकेमा ३४४ र सुर्खेतमा ३०० सङ्क्रमित रहेका छन्।
के छ अरू तथ्याङ्क?
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,१९८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,८१,२७१ पुगेको छ।
अहिलेसम्म रसुवाबाहेक सबै ७६ वटा जिल्लामा कोभिड-१९ पुगिसकेको पुष्टि भएको छ।
क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।
अहिले देशभरि ९०,७३० जना क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।
सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।
असार ८ गते सोमवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क
९,५६१कुल सङ्क्रमण
७६प्रभावित जिल्ला
विगत २४ घण्टामा पीसीआर परीक्षण ६,१९८
चिकित्सकीय निगरानीमा अलग्गै७,७९९
देशभरि क्वारन्टीनमा९०,७३०
अहिलेसम्म निको२,१४२


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ





















