कोरोना भाइरस नेपाल: थप १३९ जना सङ्क्रमित, तीन जनाको मृत्यु

तस्बिर स्रोत, RSS
देशभरिमा थप १३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र तीन जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार अपराह्ण दिएको छ।।
यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,७५२ पुगेको छ।
अहिलेसम्म ४८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।
सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा ६२६ जना निको भएसँगै अहिलेसम्म १३,७५४ जना रोगमुक्त भएका छन्।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ४,९२० व्यक्ति देशभरि आइसोलेशनमा छन्। केही स्थानमा सङ्क्रमितहरूलाई घरमै अलग्ग बस्ने अनुमति पनि दिइएको छ।
साउन ६ गते रातिदेखि लकडाउन खुलेको छ दिन अगाडि र छ दिन पछाडिको तुलना गर्दा परीक्षण गरिएकामध्ये सङ्क्रमित पाइनेको प्रतिशतमा खास फरक नआएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।

"लकडाउन भन्दा अगाडिका छ दिनमा गरिएका पीसीआर परीक्षणमा औसत ३.२% सङ्क्रमण पुष्टि भएका थिए भने लकडाउन खुलेपछि सो औसत ३.३% रहेको छ," उनले भने।
मृतकहरू को हुन्?
गत २० घण्टामा तीन जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको डा. गौतमले बताए।
मृत्यु हुनेमा ६५ वर्षीय भारतीय पुरुष, धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुष रहेका छन्।
भारतीय नागरिकको पर्साको वीरगन्जमा मृत्यु भएको हो। उनी मुटु तथा मधुमेहको रोगी रहेको बताइएको छ।

धनुषाका शहीदनगर नगरपालिकाका पुरुषको भने शनिवार सघन उपचार कक्षमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई भर्ना गरिएको र आइतवार स्वास्थ्यस्थिति गम्भीर बनेपछि थप उपचारका लागि धरान लग्ने क्रममा बाटोमा मृत्यु भएको डा. गौतमले बताए।
बाराका पुरुषमा भने निमोनिया, मस्तिष्काघात र मिर्गौलासम्बन्धी रोगको काठमाण्डूको उपचार भइरहँदा कोरोनाभाइरस सङ्क्रमणका कारण सोमवार बिहान मृत्यु भएको हो।
अरू आँकडा के छन्?
विगत २४ घण्टामा पीसीआर विधिबाट ४,८१८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३४७,४५७ रहेको छ।
अहिले देशभरिका क्वारन्टीनमा १६,३७९ जना छन्।
प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निकट भविष्यमा दैनिक १८ हजारभन्दा धेरै पीसीआर परीक्षण गर्न सक्ने क्षमता विकास भइरहेको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा




















