कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नलिने

nepali congress
तस्बिरको क्याप्शन, कांग्रेसको नयाँ नेतृत्वले हारेको समुहलाई केन्द्रीय समितिमा मनोनयन गरी सन्तुलन मिलाउने भएको छ
Published

अहिले जारी प्रक्रियाबाटै प्रधानमन्त्री नबनेसम्म नेपाली कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नलिने कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रकाशमान सिंहले बताएका छन्।

महामन्त्री बनेपछि शुक्रबार सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले त्यस्तो विचार व्यक्त गरेका हुन्।

शुक्रबारै एउटा भिन्दै कार्यक्रममा सिंहले दलमा नया नेतृत्व पछिको आन्तरिक सन्तुलन मिलाउन महाधिवेशनको पुरा परिणाम कुरिरहेको बताए।

असंबैधानिक

प्रधामन्त्री चयनका लागि आठौं पटकको मतदान हुनु दुइ दिन अघि रिपोर्टर्स क्लबले गरेको एउटा कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीको चयन नभएसम्म उम्मेदवारीबाट हात झिक्नु असंबैधानिक हुने जिकिर गरे।

सात पटकसम्म मतदान हुँदा पनि प्रधानमन्त्री हुन नसकेको भन्दै प्रधानमन्त्रीका दोश्रो प्रत्यासी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसबाट हात झिकेको घोषणा एक साता अघि नेपाली कांग्रेसकै महाधिवेशनको उदघाटन समारोहमा गरेका थिए।

शुक्रबारै प्रकाशमान सिंहले बीबीसीको साझा सवाल कार्यक्रमसँगको अन्तरक्रियामा कांग्रेसको पहिलो प्राथमिकता अब पार्टी बलियो बनाउनु रहेको बताए।

सन्तुलन

पार्टी बलियो बनाउन अहिलेको महाधिवेशनमा हारेको समुहलाई उचित स्थान दिइने उनको धारणा थियो।

सिंह भन्छन्, “पार्टी भित्र पनि शक्ति सन्तुलन मिलाउन आवश्यक रहेको अनुभवले देखाएको छ, त्यसैले चुनाव परिणाम लेखाजोखा गरेर उचित सन्तुलन मिलाउनुपर्छ।”

देउवा पक्षले भने केन्द्रिय कार्य समितिमा नया सदस्यहरु मनोनयन हुँदा आफ्नो पक्षलाई उचित स्थान नदिइएला भन्दै चिन्ता जाहेर गरेको छ।

कांग्रेसको केन्द्रीय समितिमा सभापतिले २१ जनालाई मनोनयन गर्न सक्ने प्रावधान छ।

कांग्रेसमा पहिलोपट महामन्त्री र कोषाध्यक्षका लागि पनि प्रत्यक्ष निर्वाचन भएको हो।

सभापति, महामन्त्री र कोषाध्यक्ष तीनवटै पदमा सुशील कोइराला र शेरबहादुर देउवाको छुट्टछुट्टै प्यानल बनेको थियो।

महाधिवेशन कांग्रेस पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय हो।