प्रधानमन्त्रीका लागि १२औं मतदान आइतवार

संसद भवन
तस्बिरको क्याप्शन, माओवादी-एमाले संसदमा जारी चुनावी प्रकृयामा भाग नलिने अडानमा छन्
Published

प्रधानमन्त्रीको जारी चुनाव रद्द गर्न एकिकृत नेकपा माओवादी र नेकपा एमालेले सभामुखलाई दवाव दिए पनि यही प्रकृया दशैंपछिसम्म लम्बिने भएको छ।

राजनीतिक सहमति नहुँदासम्म उम्मेदवारी फिर्ता नलिने अडान नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नछाडेपछि निर्णयमा पुग्न नसकिरहेको चुनाव थप लम्बिएको हो।

विफल प्रयास

प्रधानमन्त्रीको निम्ति एघारौं मतदानमा बिहिवार भयो। तर बहुमत जुटाउन नसक्दा एक्ला उम्मेदवार पौडेल यसपल्ट पनि चुनिएनन्।

बहुमतमा रहेका माओवादी र एमालेले चुनावमा भाग नलिएकाले परिणाम अस्वाभाविक भने थिएन।

उनीहरुले जारी प्रकृयामा भाग नलिने निर्णय नै गरेका छन्।

तर एकजना मात्र उम्मेदवार बाँकी रहे पनि चुनाव निर्णायक नहुँदासम्म मतदान गराई रहनु पर्ने कानूनी बाध्यता रहेको सभामुखको तर्क छ।

त्यसैले सबै पार्टी सम्मिलित कार्यव्यवस्था परामर्श समितिले अर्को मतदान आउँदो आईतवार र त्यसबाट पनि टुंगो नलागे कार्तिक ९ गते गर्ने गरी दुईवटा मतदानको तिथि तोकेको छ।

आग्रह

आफूहरुले भाग नलिने चुनावबाट प्रधानमन्त्री नछानिने भएकाले नयाँ प्रकृया शुरु गर्ने बाटो खुला गरिदिन माओवादी र एमालेले कांग्रेसलाई आग्रह गर्दै आएका छन्।

राजनीतिक सहमति हुने वित्तिकै उम्मेदवारी फिर्ता लिने बताउँदै आएको कांग्रेस भने तत्काल मैदान खाली गर्न तयार छैन।

तर एमालेका प्रमुख सचेतक भीमप्रसाद आचार्यले भने, “कांग्रेसले उम्मेदवारी फिर्ता लिइदियो भने सहमतिको निम्ति विश्वासको वातावरण बन्ने थियो भन्ने हाम्रो धारणा हो।”

‘सहमतिपछि उम्मेदवारी फिर्ता’ कि ‘उम्मेदवारी फिर्तापछि सहमति’ भन्नेबारे प्रमुख दलहरुबीचको मतभेदका कारण एकसय दिन पुरा गरेको कामचलाउ सरकारको आयु थप लम्बिने भएको छ।