शान्ति प्रक्रिया र संविधान निर्माण समयमै टुंग्याउ: राष्ट्रपति

राष्ट्रपति रामवरण यादव
तस्बिरको क्याप्शन, राष्ट्रपति यादवले दशैंको मौकामा ईच्छुकहरुलाई टिका लगाइदिए
Published

दशैंको अवसरमा परम्परागत शुभकामना सन्देश दिंदै राष्ट्रपति यादवले संविधान सभाको साढे सात महिनाको बाँकि अवधि भित्रै शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउनु र लोकतान्त्रिक संविधान जारी गर्नुको विकल्प नरहेको बताएका छन्।

उक्त सन्देशमा राष्ट्रपति यादवले भनेका छन्, “हाम्रो खास गन्तव्य आर्थिक र सामाजिक रुपले समुन्नत नेपाल हो। त्यस निम्ति पनि जतिसक्दो चाँडो संविधान निर्माण गरिनुपर्नेमा सबैको सचेतता जरुरी छ।”

संविधान निर्माणमा भइरहेको ढिलाई तथा गहिरिएको राजनीतिक गतिरोधको बीचमा आएको उक्त सन्देशमा राष्ट्रपतिले गम्भीर चिन्ता जनाएका छन्।

दुई वर्षको अवधि सकिएपछि गएको जेठमा संविधान सभालाई नयाँ संविधान लेख्न थप एक वर्षको म्याद दिइएको थियो।

राजनीतिक गतिरोधका माझ असारमा प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा गरेका थिए।

तर त्यस यता देशमा बाह्र पटकको मतदानपछि पनि नयाँ प्रधानमन्त्री चयन हुन सकेको छैन।

संविधान निर्माणको काम पनि ठप्पजस्तै बनेको छ।

त्यही अन्योलप्रति संकेत गर्दै प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो दशैं सन्देशमा शान्ति प्रक्रिया र संविधान निर्माणलाई समयमै टुंग्याउन सबैबीच मेलमिलापको आवश्यकता औंल्याएका छन्।

पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको सन्देशमा स्वतन्त्र राष्ट्रिय अस्मितालाई जोगाउँदै मुलुकमा राजनीतिक स्थिरता कायम गर्नुपर्ने उल्लेख गरिएको छ।

उमंग

उत्साह र उमंग बोकेर आएको दशैं चाडको महत्वपूर्ण दिन विजया दशमी आईतबार देशैभरी धेरै नेपालीहरुको घरघरमा टिकाटालो गरेर मनाइयो।

मानिसहरुले सुस्वास्थ र दिर्घायुको शुभकामना साटासाट गरे।

सक्नेले मीठो खाए र राम्रो लाए।

दशैंको अवसरमा इच्छुकहरुलाई आईतबार राष्ट्रपति रामवरण यादवले शीतल निवासमा टिका लगाइदिएका थिए।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफन्त, मित्रजन तथा सुरक्षाकर्मीहरुसंग शुभकामना साटासाट गरे।

अधिकांश माओवादी नेताहरुले दशैंलाई परम्परागत टिकाटालोको चाडका रुपमा नभई एउटा सांस्कृतिक अवसरको रुपमा लिने गर्छन्।

दशैं मनाउँदै मानिसहरु
तस्बिरको क्याप्शन, ठाउँठाउँमा पानी परेपछि कतिपयलाई यसपाली हिले दशैंको अनुभव भयो

पूर्व राजा ज्ञानेन्द्रलेपनि निर्मल निवासमा आएका मानिसहरुलाई टिका लगाइदिएका थिए।

हिले दशैं

टिकाटालोको लागि मानिसहरुको निकै ओहोर दोहोर भएपनि प्राय ट्राफिक जाम भइरहने काठमाण्डौंका मुख्य सडकहरुमा आईतबार निकै कम गाडिहरु चलेका थिए।

जति चलेका थिए त्यसमा अधिकांश निधारमा राता टिका र टाउकामा हरिया, पहेंला जमरा सिउरेर आफन्तकहाँ टिकाटालो गर्न जाने चटारोमा रहेका मानिसहरु देखिन्थे।

तर केही ठाउँहरुमा असारै सम्झाउने गरी झरी परेको हुनाले कतिपयको निम्ति यो वर्षले हिले दशैंको स्वाद दिलायो।