अन्मिनको म्याद थप्न माओवादीको औपचारीक प्रस्ताव

माओवादी पुसमा सकिने अन्मिनको म्याद जेठ १४ गतेसम्म लम्ब्याउन चाहन्छ
तस्बिरको क्याप्शन, माओवादी पुसमा सकिने अन्मिनको म्याद जेठ १४ गतेसम्म लम्ब्याउन चाहन्छ
Published

नेपालको शान्ति प्रकृयालाई सघाइरहेको राष्ट्रसंघीय मिसन अन्मिनको म्याद जेठ १४ गतेसम्म बढाउन एकिकृत नेकपा माओवादीले नेपाली कांग्रेस र नेकपा एमालेसमक्ष औपचारीक प्रस्ताव गरेको छ।

पार्टीको सोमवारको निर्णय अनुसार माओवादीले पुस मसान्तबाट फर्किन लागेको अन्मिनको म्याद बढाउन आग्रह गरेको हो।

माओवादीले अन्मिन फर्किएपछिको सम्भावित मूठभेडको खतरा दर्शाउँदै म्याद थप्नु पर्ने तर्क राखेको छ।

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने, “अनावश्यक रुपमा देश भिडन्तमा जान सक्ने खतरा व्यहोर्नु भन्दा अन्मिनको म्याद थपौँ भन्ने हाम्रो प्रस्ताव हो।”

सर्त

कांग्रेसले भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितको माओवादी नेतृत्व समक्ष सर्त तेर्‍याएको छ।

कांग्रेस नेता डा.रामशरण महतले भने, “अन्मिनको म्याद थप्ने हो भने नेपाली सेनालाई उसको अनुगमनबाट हटाउनु पर्छ।”

सभापति सुशील कोइरालाको निवासबाट कांग्रेससँगको भलाकुसारी गरेर फर्किए लगत्तै माओवादी नेतृत्वले एमाले नेतृत्वसँग प्रचण्ड निवासमै छलफल गरेको थियो।

एमालेसँगको उक्त छलफल कांग्रेससँगको भन्दा सकारात्मक रहेको माओवादीले मसशुस गरेको छ।

माओवादी नेता प्रकाशका अनुसार एमाले नेतृत्वले आफूलाई अन्मिनको म्याद थपको पक्षमा उभ्याउनुका साथै त्यसको निम्ति सरकार र अन्य दलसँग छलफल गर्नु पर्नेमा जोड दिएको थियो।

प्रतिवाद

तर छलफलमा सरिक एमाले नेता प्रदीप ज्ञवालीले माओवादीको त्यस्तो बुझाइको प्रतिवाद गरे।

पछिल्लो पटक म्याद थप्दा माओवादीकै सहमतिमा प्रधानमन्त्रीले ‘अन्तिम चोटी’ भनेर चिठी लेखेकाले फेरी म्याद बढाउने सम्भावना कम रहेको धारणा आफूहरुले माओवादी समक्ष राखेको उनको भनाई छ।

नेता ज्ञवालीले भने, “छलफलै गर्न नसकिने त हैन्। तर म्याद थप भन्दा पनि शान्ति प्रकृयालाई निश्कर्षमा पुर्‍याउन अन्मिनको अनुपस्थितिमा उसले गर्दै आएको काम गर्ने वैकल्पिक संरचनाहरु बनाउने तिर लागौँ भन्नेमा जोड दियौं।”

मुख्य रुपमा अन्मिनको म्यादबारे केन्द्रित भएकाले प्रधानमन्त्री चुनाव, संसद अधिवेशन, संविधान लेखन लगायतका विषयमा ती दलहरुबीच विस्तृत छलफल नभएको नेताहरुले बताएका छन्।