कांग्रेसद्वारा सरकार छाड्ने चेतावनी

बुधबारको लागि तय भएको चुनावमा रामचन्द्र पौडेलको विपक्षमा भोट हाल्ने निर्णय एमालेले गरेको केही दिनपछि, सोमबार, कांग्रेसका नेताहरुले त्यसो गरे आफुहरुले सरकारबाट अलग हुने निर्णय गरेको एमालेलाई सुनाएका छन्।
कांग्रेसको सो चेतावनीपछि दुई सत्ताधारी दलबीच दुरी बढ्ने सम्भावना बढेको छ।
सरकारबाट फिर्ता
आफुले बोलाएको बैठकमा एमालेका नेताहरु अनुपस्थित भएको दुई दिन पछाडि, सोमबार, कांग्रेसका नेताहरु हुल बाँधेर एमाले कार्यालय पुगेका थिए।
जहाँ भएको कुराकानीमा एमालेले पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि कांग्रेसी नेताहरु झोक्किएका थिए।
कुराकानीको अन्तमा उनीहरुले बरु आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता लग्ने चेतावनी दिए।
“मतदानमा वहाँहरुले हाम्रो उम्मेदवारको विपक्षमा मत दिनु भयो भने नैतिक रुपले हामीले सरकारमा बसिरहन मिल्दैन,” नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बताए।
दुरी बढ्ने संकेत
आफ्नो पुरानो सत्ता साझेदार रिसाएको लगत्तै एमालेको स्थायी समितिको बैठक बसेको थियो।
तर निश्कर्ष भने केही निस्किएन।
बरु लगत्तै एमाले अध्यक्ष झलनाथ खनाल समेतले नेपाली कांग्रेसका नेताहरुलाई पुन डाकेर फकाउने कोशिश गरे।
तर त्यसले पनि कुनै निश्कर्ष दिएन।
नेपाली कांग्रेसको निर्णयबाट अचम्ममा परेको एमाले साँच्चिकै त्यो कार्यान्वयन भएमा वर्तमान गठबन्धन समस्यामा पर्ने ठान्दछ।
“त्यसले त नयाँ वाध्यकारी स्थिति उत्पन्न गर्न सक्छ। वहाँहरुले उम्मेदवारी नछाड्ने, हामीले विपक्षमा भोट दिने स्थिति भयो भने नयाँ मुठभेड शुरु हुन्छ,” एमालेका नेता भरतमोहन अधिकारीले भने।
एमालेको कलह
सत्ता साझेदार कांग्रेससंग दुरी बढ्ने छनक देखिएको बेला, एमालेभित्र वर्तमान गठबन्धननै कायम राख्नुपर्छ भन्ने प्रधानमन्त्री माधवकुमार नेपाल र नेता केपी ओली पक्ष र नयाँ प्रक्रियाबाट अर्को सरकार, माओवादी बाहेकको नेतृत्वमा, छान्नु पर्छ भन्ने अध्यक्ष झलनाथ खनाल पक्षबीचको पुरानो कलहपनि बढेको छ।
जुन कुरा नेता अधिकारीलेपनि नकारेनन्।
“एमालेभित्र विवाद छ भन्ने कुरा मैले लुकाउन सक्दिन। तर संविधान र शान्ति प्रक्रिया जटिल भयो भने एमाले, कांग्रेस र माओवादी सबैभित्र विवाद आउँछ,” अधिकारीले भने।
माओवादीको नेतृत्व अस्वीकार गरिसकेका सत्ता साझेदार कांग्रेस र एमालेबीच आपसी द्वन्द्व बढ्ने देखिएको बेला सहमतिमा त परै जाओस्, बहुमतमा प्रधानमन्त्री छान्ने कामपनि झन जटिल बन्ने ठानिएको छ।





















