ओलिम्पिक्स टोलीको विदाई: प्रसिद्ध झण्डा बाहक

प्रसिद्धजंग शाह
तस्बिरको क्याप्शन, अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको झन्डा बोक्न पाउनुलाई खेलाडीहरुले ठूलो सम्माकारुपमा लिने गर्दछन्
Published

जुलाई २७ तारिख देखि आरम्भ हुने लन्डन ओलिम्पिकमा नेपाली टोलीको झण्डा पौडी खेलाडी प्रसिद्धजंग शाहले बोक्ने भएका छन्।

शुक्रबार नेपाली टोलीको विदाई समारोहमा लगातार दोस्रो पटक ओलिम्पिक खेल्न लागेका पौडीबाज शाहलाई वरिष्ठताको आधारमा सो अवसर दिइएको हो।

ओलिम्पिक लगायत ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको झन्डा बोक्न पाउनुलाई खेलाडीहरुले ठुलो सम्मान र अवसरको रुपमा लिने गर्दछन्।

लन्डन ओलिम्पिकमा शाह सहित पौडीकै श्रेया धिताल एथलेटिक्सका तिलकराम थारु र प्रमिला रिजाल तथा शुटिङकी स्नेहा राणा सहभागी हुंदैछन् ।

घाइते

बेइजिङमा चार वर्ष अगाडी भएको ओलिम्पिकमा प्रसिद्धले भाग लिएका थिए

सन् २००७ को फिना विश्व च्याम्पियनसिप देखि खेल्न थालेका २३ वर्षिय उनले त्यसपछि लगातार तीन पटक विश्व पौडीको सवैभन्दा ठूलो प्रतियोगिता खेलिसकेका छन् ।

विशेष प्रशिक्षणका लागी एक महिना अगाडी नै लन्डन पुगिसकेका शाह प्रशिक्षणका बेला घाइते हुन पुगेका थिए।

तर अहिले उनी ठिक भइसकेको प्रशिक्षक ओङदेन लामाले जनाएका छन् ।

सामान्य विदाई

शुक्रबार नै नेपाल ओलिम्पिक कमिटीले एक समारोहका विच नेपाली ओलिम्पिक टोलीको विदाई गर्यो।

विश्वको सवैभन्दा ठूलो खेलमेलामा खेलाडीहरुको विदाई भब्य रुपमा हुने गरेकोमा यसपाली ओलिम्पिक कमिटीले सामान्य विदाई मात्र गरेको हो।

गत बेइजिङ ओलिम्पिकमा राष्ट्रपति रामवरण यादवले राष्ट्रपति कार्यालयमा विदाई गरेका थिए।

तर यसपाली राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलिम्पिक कमिटी विच विवाद हुंदा अन्तिम समयमा ओलिम्पिकमा सरकारी प्रतिनिधित्व शुन्य भएको थियो।

जसका कारण सरकारी निकायले ओलिम्पिक टोलीलाई विदाई नगरेको बुझिएको छ।

खेलकुद परिषद्ले ओलम्पिक जाने नेपाली टोलीको नाम सार्वजनिक नगरेको र आर्थिक हिसाब किताब पारदर्शी नगरेको भन्दै ओलम्पिकका लागि सहकार्य तोडेको थियो ।