‘समानुपातिकको सूचीपछि सरकारबारे छलफल’

सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा दलहरुले समानुपतिकको सूची बुझाएपछि सरकार निर्माणका बारेमा छलफल थाल्ने उक्त पार्टीका एक नेताले बताएका छन्।
त्यस्तो सूची बुझाउन दोस्रोपटक थपिएको म्याद सकिन केही दिन बांकी रहेका बेला ती नेताको त्यस्तो भनाइ आएको छ।
खाका
पार्टी भित्रै कसले सरकारको नेतृत्व गर्ने भन्ने किचलोलाई यथावत राखेर ठुलो दलको हैसियतले सरकारको नेतृत्व गर्न कांग्रेस कस्सिने देखिएको छ।
हिजो बसेको केन्द्रीय समितिको बैठकले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो।
तर सहयात्री दलहरुसँग छुट्टाछ्टै वार्ता गरीरहेको कांग्रेसले मन्त्रालयहरुको बाँडफाँट र सरकार निर्माणको खाका तयार गर्न भने बाँकी नै रहेको कांग्रेस नेता मिनेन्द्र रिजालले बताए।
उनले भने, “त्यस किसिमको चरणमै हामी पुगेका छैनौं, तर छिटै त्यस चरणमा पुगिन्छ। दलहरुले समानुपातिकको सूची बुझाएपछि सरकार गठनको खाकाको सम्बन्धमा कुराकानी गर्न सकिन्छ।”
आशंका
सहमतीय नभए बहुमतीय सरकार बनाउनु पर्ने भए पनि अहिले नै बहुमतीय सरकार गठनको कुरा गर्नु उचित नहुने उनको भनाई छ।
“सबै दलको उपस्थितिको होइन, सबै दलको सहमतिको सरकार हुनुपर्छ भन्ने हाम्रो मान्यता छ। यसैको गृहकार्यमा हामी लागेका छौं। त्यसैले अहिले नै वहुमतीय सरकारको कुरा गर्नु उचित हुन्न,” नेता रिजालले भने।
तथापि मुख्य दलहरुबीच नै मतभेद देखिइरहेका बेला कतिपयले सहमतीय सरकार गठन हुनेमा आशंका व्यक्त गरेका छन्।
खासगरी नेकपा एमालेले पटक पटक प्रतिपक्षमा बस्ने अभिव्यक्ति दिएकोले यस्तो आशंका बढेको हो।





















