'दक्षिण सुडानमा हजारौं मारिएका हुनसक्ने'

दक्षिण सुडानका शरणार्थीहरु
तस्बिरको क्याप्शन, संयुक्त राष्ट्र संघले दक्षिण सुडानमा असी हजार मानिसहरु शरणार्थी बन्नु परेको बताएको छ
Published

दक्षिण सुडानस्थित एकजना राष्ट्रसंघीय अधिकारीले त्यहां जारी हिंसामा हजारौंको ज्यान गएको हुन सक्ने बीबीसीलाई बताएका छन्।

राष्ट्रसंघीय मानवीय सहायता संयोजक टोबी ल्यान्जरले वितेको हप्ता दक्षिण सुडानको लागि विनाशको हप्ता भएको बताए।

बीबीसीको न्युज आवर कार्यक्रममा बोल्दै राष्ट्रसंघीय अधिकारी टोबी ल्यान्जरले भने, "दक्षिण सुडानमा अहिलेको चरणमा हजारौं मानिसहरुले ज्यान गुमाइसकेका छन् भन्न सकिन्छ।"

शरणार्थी

उनले लडाईंबाट बच्न शरण खोज्दै हिंडेका मानिसहरुको संख्या पनि दशौं हजार हुनसक्ने बताएका छन्।

त्यसअघि, दक्षिण सुडानका राष्ट्रपति साल्भा किइरले केहि दिन विपक्षीहरुको कब्जामा रहेको बोर नगर पुन: आफ्नो नियन्त्रणमा लिन उनको सेना सफल भएको बताएका थिए।

विद्रोहीहरुको नेतृत्व भूतपूर्व उपराष्ट्रपति रिएक मासारले गरिरहेका छन्, जो नुयर समुदायका हुन्।

उनले विरोध गरिरहेका राष्ट्रपति किइर चाहिं सबैभन्दा ठूलो डिन्का समुदायका हुन्।

बीबीसीका दक्षिण सुडान विश्लेषक जेम्स कोपनल भन्छन् दक्षिण सुडानमा जातिय आधारमा मानिसहरु मारिइरहेका भन्ने आरोपहरुमा जुन स्तरमा वृद्धि भैरहेको छ, त्यो चिन्ताजनक छ।

विभाजीत समाज

वर्तमान द्वन्द्व वास्तवमा राजनीतिक हो, जुन सैनिक सहभागीता र जातिय रुपमा विभाजीत समाजमा भैरहेको छ।

यसलाई जातिय युद्धका रुपमा चित्रित गर्नु उपयुक्त हुंदैन, किनकी स्थिती यति सहजै अनुमान गरिहाल्न सकिने प्रकृतिको छैन।

फेरि, देशको विभिन्न भागमा लडाईं गरिरहेका सशस्त्र गैरसैनिकहरुमाथि सैनिक कमाण्डरहरुको नियन्त्रण कुन हदसम्म छ भन्ने पनि स्पष्ट छैन।

दक्षिण सुडानका शरणार्थीहरु
तस्बिरको क्याप्शन, आधाभन्दा बढी शरणार्थीहरुले राष्ट्रसंघीय परिसरहरुमा आश्रय लिइरहेका छन्

यि सबैका माझ जातिय विद्वेषबाट प्रेरित हिंसाप्रतिको अन्तर्राष्ट्रिय चिन्ता बढ्दो छ।

चेतावनी

संयुक्त राष्ट्र संघका महासचिव बान की मूनले मानव अधिकार हननका घटनाहरुमा संलग्न हुने जो कोहीलाई पनि कानूनी कार्वाही गरिने चेतावनी दिइसकेका छन्।

संयुक्त राष्ट्र संघले मंगलबार कम्तीमा तीनवटा सामुहिक चिहानहरु फेला परेको विवरणहरु प्राप्त भएको जनाएको थियो।

राष्ट्र संघका अनुसार दक्षिण सुडानको संकटका कारण कम्तीमा असी हजार मानिसहरु विस्थापीत भएका छन्।

ति मध्ये झण्डै आधाले राष्ट्रसंघीय कार्यालय परिसरहरुमा शरण लिइरहेका छन्।

दक्षिण सुडानको विग्रंदो सुरक्षास्थित माझ मंगलबार संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले त्यहां थप पांचहजार पांच सय शान्ति स्थापक सैन्य परिचालन गर्न अनुमति दिएको थियो।